तातोपानी नाका चार महिनापछि खुल्ने



काठमाडौं : तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन् । 

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् । सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु(याएपछि सो नाका बन्द भयो। त्यसैको एक वर्षपछि २०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा थप ढिलाइ हुन पुग्यो । 

त्यसयताका बर्खे बाढी, पहिरोले २६ किलोमिटर बाह्रबिसे–लिपिङ डिकखण्ड तहसनहस भयो । भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योल सिर्जना भएको थियो ।

यसअघि नेपाल सरकारले तातोपानी नाकाको अतिरिक्त तिब्बतबाट सामान ढुवानी गर्ने र तिब्बततर्फ मालसामान निर्यात गर्न बझाङ, रसुवागढी, दार्चुला, ताप्लेजुङ र हुम्लातर्फका व्यापारिक नाका खोल्न पनि चीन सरकारसँग आग्रह गरेको थियो । 

तर अन्य नाकाभन्दा तातापानीलाई चीन सरकारले बढी प्राथमिकतामा राखेको बताइएको छ । ‘नाका खुल्ने विषयमा सरकारलाई जानकारी आएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘नाका खुलेसँगै गृह मन्त्रालयले सुरक्षा प्रदान गर्नुपर्ने र अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसबारे चिनियाँ राजदूतले गृहमन्त्रीलाई त्यसबारे जानकारी गराएकी हुन् ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्