रियलले जित्यो लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि



एजेन्सी : स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा युएईको अल अइन फुटबल क्लबलाई ४ –१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

दुबईस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा रियललाई जित दिलाउन लुका मोड्रिच, मार्कोस लोरेन्टे र सर्जियो रामोसले एक एक गोल गरे । रियलले एक गोल आत्मघाती उपहार पाएको थियो । अल अइनका त्सुकासा शिओतानीले एक गोल गर्दा याहिया नाडेरले आत्मघाती गोल गरे । 

घरेलु टोलीविरुद्ध रियलले खेलको १४ औं मिनेटमा मोड्रिचको गोलबाट अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा लोरेन्टेले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।  ७९ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै रियलको अग्रता ३–० को बनाए । 

खेलको ८६ औं मिनेटमा घरेलु टोलीका शिओतानीले गोल गर्दै खेल ३–१ मा ल्याए । तर, खेलको अन्तिम समयमा इन्जुरी समयमा अल अइनका नाडेरले आत्मघाती गोल गर्दा रियलले ४–१ जित निकालेको हो । 

यसअघि रियलले सन् २०१६ र २०१७ मा उपाधि जितेको थियो ।  समग्रमा भने रियलले चौथो पटक क्लब विश्वकप फुटबलको जितेको हो ।  

प्रतिक्रिया दिनुहोस्