निर्मला हत्या प्रकरण : रिकभर भएन डिलिट गरिएका फुटेज



कञ्चनपुर : निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ । 

प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने आवाज उठेपछि ती फुटेज रिकभर गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको थियो ।

‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सिसी क्यामेराका डिलिट भएका फुटेज रिकभर गर्न पठाएका थियौं,’ कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘डिलिट भएको १५ दिनसम्मको फुटेज मात्र रिकभर हुन्छ तर एक महिनापछि फुटेज पठाइएकाले रिकभर हुन नसकेको हो ।’ 

ओपेरा होटलमा साउन १० गते तीन युवा र तीन जना किशोरी आएको भनेर होटल कर्मचारीले भनेपछि ती को–को हुन् भनी फुटेज डिलिट भएकाले हेर्न सकिएको थिएन । तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणको जन्मदिनको अवसरमा उनीहरू त्यहाँ फोटो खिच्न गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

ऐश्वर्य विष्ट नाम गरेकी एक मोडल र उनका दुई सहयोगी त्यहाँ फोटो खिचाउन गए पनि निर्मला भने नरहेको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।

निर्मला हत्या घटनामा सबै प्रमाण नष्ट भएर एक मात्र प्रमाणका रूपमा रहेको डिएनएको सिम्बोल नै ठीक हो वा होइन भनेर थप शंका उब्जेको पनि बताइएको छ । घटनास्थललाई चार दिशामा घेरा हालेर प्रमाण जोगाउन नसक्ने प्रहरीले निर्मलाको भेजाइनल स्वाब सही अवस्थामा संकलन गरेकोमा विज्ञहरूले नै आशंका गरेका छन् ।

‘भेजाइनल स्वाब कसरी निकालियो भन्ने पनि हेर्नुपर्ने देखिन्छ,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक शरद चन्द भन्छन्, ‘घेरा हाल्न नसक्ने प्रहरीले भेजाइनल स्वाबको परिमाण सुरक्षित राख्यो कि राखेन भन्ने छ ।’

भेजाइनल स्वाब निकाल्दा सिन्कोमा कटन राख्दा सुरक्षित भयो कि भएन, कस्तो कटन प्रयोग गरिएको छ ? घोप्टो पारेर राखिएको शवको भेजिनामा वीर्य थियो कि थिएन ? यी र यस्ता कुरा हेरिनुपर्ने उनको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्