दुर्घटनामा मृत्यु हुनेमा आधा पैदलयात्री



चितवन : जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीमध्ये आधा पैदलयात्री रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो । तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका पाँच जनालाई विभिन्न सवारी साधनले ठक्कर दिएको हो । यसका अतिरिक्त बस दुर्घटनामा एक जना, मोटरसाइकल दुर्घटनामा तीन जना र साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार पछिल्लो समय दुर्घटनामा पैदलयात्रीको मृत्यु हुनेक्रम बढ्दो रहेको छ । सवारी चालकको तीव्र गति र पैदलयात्रीको लापरवाहीका कारण दुर्घटना हुने गरेको छ । यसरी मृत्यु हुने पैदलयात्री मादक पदार्थ सेवन गरेका धेरै हुने गरेका छन् । उनले बाटोमा हिँड्दा ट्राफिक नियमको पालना नगरेका कारण यस्ता घटना बढी हुने गरेको भन्दै जनचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्