जनता आवास,गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या



काठमाडौं : नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । 

नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भएको छ । यो शीतलहरमा चार छोराछोरीलाई कसरी जोगाउने उनलाई पिरोलो हुन थालेको छ । 

‘पोहोर साल पनि शीतलहरले दुःख भयो, यो वर्ष पनि उस्तै छ । राम्रो ओढ्ने–ओछ्याउने छैन । भएको घर पनि भत्काएर गल्ती गरियो जस्तो लागेको छ,’ उनले गुनासो गरिन् । 

दुई वर्षअघि घर भत्काएपछि उनले जग खनेकी थिइन् । जनता आवास कार्यक्रममार्फत पाएको पहिलो किस्ताबराबरको ५० हजार रुपैयाँले जग हालिन् । 

त्यसयता दोस्रो किस्ताका लागि जिल्ला जनता आवास समन्वय समितिको कार्यालय धाउँदाधाउँदै थाकिसकेकी छिन् । ‘भोलि आउनु, पर्सि आउनु भन्दाभन्दै दुई वर्ष भयो । दोस्रो किस्ता दिएका छैनन्,’ ताराले भनिन्, ‘दोस्रो किस्ता नपाउँदा जगभन्दामाथि उठाउन सकिएन ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्