फिल्ममा बर्सेनि डुब्छ आधा अर्ब



काठमाडौं  : नेपाली फिल्ममा लगानी बढेको छ । बर्सेनि बन्ने फिल्मको संख्या सय हाराहारी पुगेको छ । तर, नाफा ? अहँ, छैन । बरु हरेक वर्ष आधा अर्बभन्दा बढी रुपैयाँ डुबिरहेको छ ।

फिल्म निर्माणमा वार्षिक एकदेखि डेढ अर्बको लगानी हुन्छ । तर निर्माण भएका पाँचदेखि सात प्रतिशत चलचित्रले मात्रै लगानी सुरक्षित गर्छन् ।

०७५ सालको आठ महिना अवधिमा प्रदर्शनमा आएका ६५ चलचित्रमध्ये पाँच प्रतिशतले मात्र लगानी जोगाए । तीन प्रतिशतले लगानीको थोरै गुणा नाफा कमाए । नाफा कमाउने केही प्रतिशत फिल्मको ‘चार्म’ देखेर लगानी दिनदिनै बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा पनि यस वर्ष फिल्म फ्लप हुने क्रम अत्यधिक देखियो ।

वैशाख ७ गते रिलिज भएको वर्षको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँ’देखि मंसिर २८ गते प्रदर्शनमा आएका ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’सम्म आइपुग्दा ६५ फिल्म रिलिज भए । तीमध्ये ‘छक्का पन्जा-३’ सर्वाधिक कमाउने फिल्म बन्यो । यसले अहिलेसम्म १७ करोड रुपैयाँभन्दा माथि कलेक्सन गरेको छ भने अहिले पनि केही हलमा प्रदर्शनरत छ ।

‘नाइँ नभन्नु ल-५’, ‘रामकहानी’, ‘इन्टु मिन्टु लन्डनमा’, ‘जय भोले’, ‘चंगा चेट’लगायत केही फिल्मले नाफा कमाए । ‘प्रसाद’ले प्रदर्शनको आकर्षक सुरुआत गरेको छ । यसबीचमा निर्मित प्रायः सबै फिल्मको लगानी एक करोड रुपैयाँ र त्योभन्दा माथि छ । ‘इन्टु मिन्टु’ले त आफ्नो फिल्मको लगानी तीन करोड रुपैयाँभन्दा माथि रहेको जनाएको छ ।

कलाकारको बढ्दो पारिश्रमिक र विदेशमा छायांकन गर्ने होडबाजीका कारण फिल्मको बजेट वृद्धि भएको हो । बजेट बढे पनि फिल्मको बजार विस्तार हुन नसक्दा व्यापारघाटा अत्यधिक देखिएको हो ।

‘नेपाली फिल्म रिलिज गर्नै गाह्रो छ । हलवालाहरू नेपाली फिल्म प्रदर्शन गर्नै मान्दैनन् । झन् मल्टिप्लेक्सहरूले त सो नै दिँदैनन्’, अघिल्लो महिना रिलिज भएको फिल्म ‘गुनगुन’का निर्माता तथा निर्देशक पुकार भट्टराई भन्छन्, ‘मेरो फिल्म चल्दाचल्दै उतारियो । अनि कसरी निर्माता सुरक्षित हुन्छन् ? विदेशी फिल्मलाई रेड कार्पेट ओछ्याइन्छ, नेपाली फिल्म चल्नै दिँदैनन् ।’

निर्माताहरू नेपाली फिल्मको लगानी डुब्नुको अधिकांश दोष हलवालालाई दिन्छन् । तर, वितरक सुनील मानन्धर भन्छन्, ‘फिल्ममा लगानी मात्रै गर्ने तर कन्टेन्टमा ध्यान नदिने प्रवृत्तिले यस्तो अवस्था आएको हो । यहाँ निर्माताले आफ्नो फिल्मले यति कमायो, उति कमायो भनेर गर्ने गरेको चर्चा हल्ला मात्रै हो । स्थिति धेरै नाजुक छ । पाँचसात प्रतिशत फिल्मले मात्रै कमाउँछन्, बाँकी सबै डुब्ने हो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्