प्रतिबन्धित भारुमै कारोबार



विराटनगर : कोयम अन्सारीले आँखा उपचार गरुन्जेल नेपाली रुपैयाँ चलाउनै परेन। सबै काम भारुमै भयो। उनी भारत पश्चिम बंगाल राज्यको मालदहबाट छोरासँगै विराटनगर आएका थिए। धेरै भारतीयहरू आँखा उपचार गर्न वारि नेपालसम्म आउने गर्छन्।

‘राम्रो उपचार हुन्छ भन्ने सुनेकाले यता आइयो’, अन्सारीले भने, ‘पैसा पनि हाम्रै देशको चल्दो रहेछ।’ उनले नेपाली रुपैयाँ साटेनन्। काकडभिट्टा हुँदै विराटनगरसम्म आउँदा सबै भुक्तानी भारुमै गरे। कसैले लिन्न पनि भनेन् बरु अस्पतालमा समेत उतैको नोट चल्यो।

एक सय दरमाथिका भारतीय नोटमा सरकारले प्रतिबन्ध लगाएको छ। तर, विराटनगरमा त्यसको खासै असर छैन। औद्योगिक नगरीमा प्रतिबन्धित भारतीय नोट विगत झैं निर्वाध चलन चल्तीमा छन्।

धेरै कारोबार अझै भारुमै हुने गरेको छ। दुई सय, पाँच सय र दुई हजार दरका भारु नोट नचलाउन सरकारले सूचना जारी गरेको छ। तर, प्रदेश १ को अस्थायी राजधानीमा यिनै नोटको कारोबार बढी हुने गर्छ।

पूर्वी नेपालमा भारतीय नोटको कारोबारमा संलग्न मनीचेन्जर तथा अवैध कारोबारीले नोट संकलन गरी बढी मूल्यमा बिक्री गर्ने धन्दा नै चलाएका छन्। खासगरी भारत सीमावर्ती क्षेत्र र विराटनगरभित्रै रहेका आँखा अस्पताल तथा आसपासमा यस्तो कारोबार फस्टाएको हो। छोरासँगै आएका कोयम अन्सारीले अस्पताल परिसरबाहिर बसेका व्यक्तिलाई बट्टी बुझाएर खुद्रा साटेको सुनाए।

मुगेर बिहारका साजन रायले सिमावर्ती बजार गएर खुद्रा गर्दा मनलागी बट्टी तिर्नु परेको गुनासो गर्दै भने, ‘वारि पनि भारु चल्ने भएकाले हामीलाई त्यति धेरै समस्या छैन।’ उनले यसअघि अस्पताले सबै भुक्तानी भारुमै गर्ने गरेको सुनाए।

विराटनगरको मलाया रोडमा अवस्थित विराट आँखा अस्पतालमा सबै किसिमको भारतीय नोट चल्छ। त्यहाँ दैनिक तीन सयभन्दा बढी भारतीय आँखा उपचार गर्ने आउँछन्। अस्पतालका प्रबन्धक राजकुमार मण्डल भन्छन्, ‘बिरामीको समस्यालाई बुझेर सबै रकम लिन्छौं।’

उनले आएका बिरामीसँगै साना भारतीय नोट नहुने गरेकाले सास्ती दिनुको साटो ठूला नोट लिएर उपचार सहज बनाइदिएको दाबी गरे। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्