विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य



काठमाडौं : नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन गएका छन् । उनलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।

यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनु हुनेछ । “मुलुकलाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर दुबई जाँदैछु”, रासससँगको कुराकानीमा उनले भने ।

दुबईमा उनले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । सत्तरी केजी तौल समूहबाट काठमाडौँका मरिचमान लामाले सो प्रतियोगितामा भाग लिनुहुने उनले जानकारी दिए । झापाको विर्तामोड–४ निवासी दाहालले बडी ग्यारेज नामक फिटनेस सेन्टर सञ्चालन गर्दै आएका छन् ।

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले विश्वस्तरीय विभिन्न प्रतियोगितामा पदक जितेर नेपालको प्रतिष्ठा उच्च राख्दै आएका दाहाललाई आगामी प्रतियोगितामा सफलताका लागि सम्पूर्ण नेपालीको आशिर्वाद रहेको बताए ।

सन् २०१३ मा हङ्कङमा भएको एशियन खेलकूद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेर उनले अन्तर्राष्ट्रिय ख्यातिको शुरुआत गरेका थिए । उनले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जितेका थिए । देशभित्र आयोजना हुने गरेका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनी पहिलो हुँदै आएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्