नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा सिलबन्दी



काठमाडौं: सरकारले नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा सिलबन्दी गरेको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुबौमा सिलबन्दी गरेको हो । 

 

मंगलबार अनुगमन टोलीले सो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित विक्री वितरण केन्द्र दुबैको अनुगमन गरेको थियो । 

 

अनुगमनको क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्रीहरुको परीक्षण गरेको थियो ।

 

 परीक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्पाएर’ पाउडरको समेत प्रयोग भएको पाइएपछि सो मिठाई पसल सिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए ।  विभागले सो पसललाई खाद्य ऐन अन्तरगत कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।

 

सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्