पशुपति क्षेत्रमा पाकेटमारको बिगबिगी



काठमाडौं : पशुपति क्षेत्रमा पाकेटमारको अचाक्ली बिगबिगी छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनको पाकेट मारेर फ्याँकिएका पर्सका अन्य कागजातले पशुपति प्रहरी पोष्टको सूचना पाटी भरिभराउ छ । 

पशुपति क्षेत्रको यो प्रहरी पोष्टमा सातामा चारवटासम्म पर्सबाट फ्याँकिएका कागजात आइपुग्ने गरेको छ । गौशाला प्रहरी प्रभाग प्रमुख सुनिल मल्लका अनुसार कुनै यस्ता कागजात प्रहरीले फेला पारेर ल्याए भने कुनै पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मीले ल्याएर पोष्टमा बुझाउँछन् ।

पोष्टका प्रहरी भीमसेन तिमिल्सिनाका अनुसार सातामा कम्तीमा चारवटा महत्वपूर्ण कागजात फेला पर्न थालेका छन् । पाकेटमारले पाकेट मारेपछि पैसा वा नोटबाहेक पर्सबाट काम नलाग्ने भनी फ्याँकिएका कागज सङ्कलन गरिएको हो ।

तिमिल्सिनाका अनुसार प्राप्त भएका कागजातलाई प्रहरी प्रभाग गौशालामा सङ्कलन गरेर बुझाइने गरिएको छ । प्रभाग प्रमुख मल्लका अनुसार उपत्यकामा नै पाकेटमारीको ठूलो समस्या छ । प्रहरीले साँझ, बिहान र दिउँसो गरी तीनै समय पाकेटमारको निगरानी गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्