इङ्लिस प्रिमियर लिग : औबामेयाङको गोलमा आर्सनल विजयी



लन्डन : पिरे इमेरिक औबामेयाङ प्रेरित आर्सनलले इङलिस प्रिमियर लिगमा शनिबार बर्नलीमाथि ३–१ को जित निकाल्दै चौथो स्थानको चेल्सीसँग अंक बराबरी गर्यो।

 

शनिबार घरेलु मैदान इमिरेट्स स्टेडियममा औबामेयाङेले दुई गोल गरेपछि आर्सनलले बर्नलीमाथि सहज जित निकाल्दै चेल्सीसँग अंक बराबरी गरेका हुन्। १८ खेल खेलेको आर्सनल र एक खेल कम खेलेको चेल्सीले समान ३७ अंक छ। तर, गोलअन्तरको आधारमा चेल्सी चौथो र आर्सनल पाँचौं स्थानमा छन्।

 

हारपछि १८ खेलबाट १२ अंकमा सीमित बर्नली रेलिगेसन क्षेत्र १८औं स्थानमा झरेको छ। औबामेयाङले दुई गोल गर्दा एलेक्स एओबीले एक गोल गरेका थिए। बर्नलीका एस्ले बार्नेसले एक गोल फर्काएका थिए। १४औं मिनेटमा पिरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो।

 

सिइएड कोलासिनाकको पासमा पिरेले उक्त गोल गरेका थिए। दोस्रो हाफमा आर्सनलले दुई गोल गर्दा बर्नलीले एक गोल फर्काएको थियो। ४८औं मिनेटमा औबामेयाङले नै गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए। एलेक्जान्ड्रे लाकाजेट्को पासमा औबामेयाङले दोस्रो गोल गरेका थिए। त्यससँगै औबामेयाङले सिजनको ११औं गोल पूरा गरे।

 

तर, ६३औं एस्ले बर्नेसको गोलबाट बर्नली खेलमा फर्किने प्रयास गर्यो। केभिन लङको पासमा गोल गर्दै एस्लेलाई बर्नलीलाई २–१ को स्थितिमा पुर्याएका थिए। बराबरीमा पुर्याउन संघर्षरत बर्नलीले तेस्रो गोल बेहोरेपछि अंक गुमाएको थियो। खेलको ९०औं मिनेटमा एओबीले गोल गर्दै आर्सनललाई ३–१ को सहज जित दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्