लागूपदार्थ कारोबारविरुद्ध कैलाली प्रहरी सक्रिय



कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न रहेका १७ जनालाई सार्वजनिक गरेको छ ।  कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले कात्तिक २० गते यता लागूऔषध कारोबारमा संलग्न १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।

 

उनले उनीहरुको साथबाट एक सय १९ ग्राम तीन मिलिग्राम खैरो हेरोइन, चार सय २१ ट्याबलेट नाइट्रोभेट, पाँच सय १४ ट्याबलेट स्पास्मो नामक लागूऔषध, १४ सिसी फेनारगन, एक सिसी डाइलेक्स र नौ सय ६६ ग्राम ७३ मिलिग्राम चरेस बरामद भएको बताए । 

कात्तिकमा कैलालीको प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक तिम्सिनाले लागूऔषधको कारोबार र सेवनका कारण समाजमा आपराधिक गतिविधि बढ्ने भएकाले आफ्नो पहिलो मिसन नै लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने भएको स्पष्ट पारे ।

 

उनले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने र स्थानीय सरकारसँगको समन्वयमा जिल्लाभरि जनचेतनामूलक अभियान चलाउने योजना रहेको बताए । त्यसमा सरोकारवाला संघसंस्था र स्थानीय क्लबहरुसँग पनि समन्वय गरिने उनले जानकारी दिए ।

 

पहिलो चरणमा केही दिनभित्र धनगढी उपमहानगरपालिका क्षेत्रमा जनचेतनामूलक अभियान थाल्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए । उनले प्रत्येक विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई लागूऔषध दुव्र्यसनका हानिबारे जानकारी दिइने कार्यक्रम रहेको बताए । 

यस्तै कैलाली प्रहरीले डेढ महिनामा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोप लागेका तीनजना, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा ६ जना, अपहरण गरी शरीर बन्धक बनाउने कसुरमा एकजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका क्षेत्रमा चोरीमा संलग्न भएको आशंकामा थप ७ जनालाई पनि नियन्त्रणमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्