काठमाडौं : लुम्बिनी विकास बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १७.३५४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिले राष्ट्रबैंकले तोकेको पुँजी पुर्याउने गरी बोनस सेयर वितरण प्रस्ताव पारित गरेको हो । लुम्बिनीले बोनस सेयरबापत तिर्नुपर्ने कर भने स्वयं सेयरधनीले नै तिर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले मर्जरका कारण पाएको करछुट उपयोग गर्दा लगानीकर्ताले कर तिर्नु पर्ने भएको हो ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको अहिले चुक्ता पुँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ छ ।
बैंकले प्रस्ताव गरेको ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ रुपैयाँको बोनस सेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी हुनेछ । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकका लागि दुई अर्ब ५० करोड चुक्ता पुँजी ताकेको थियो ।
प्रस्तावित बोनस सेयर राष्ट्रबैंकबाट स्वीकृत भएपश्चात् साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।