प्लास्टिकलाई चुनौती दिँदै पातका दुनाटपरी उद्योग



कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलवारीका दुई महिलाले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएसँगै प्लास्टिकजन्य सामान सो क्षेत्रमा विस्थापित हुन थालेका छन् । 

यस उद्योलाई सरिता बुढामगर, भावना पुलामीमगर र विष्णु कुमार भुसालले संयुक्त लगानीमा सञ्चालन गरेका छन् ।

 

झण्डै २ लाख लगानीमा २०७४ फागुनदेखि उद्योग सञ्चालन गरेको सञ्चालक सदस्य सरिता बुढामगरले जानकारी दिइन् । ऋण काडेर दुनाटपरी बनाउने मेसिन खरीद गरी व्यवसाय सुरु गरेको उनले बताईन । 

सालको पातबाट बनाइने दुनाटपरी उद्योग गाउँमै सञ्चालन गर्दा गाउँका ४० देखि ४५ परिवारका बुढापाखा र फुर्सदिला मान्छेहरुले रोजगारी पाएको स्थानीयको पाएका छन् । 

साइजअनुसार एकदेखि ३ रुपयाँसम्म मुल्य पर्ने दुनाटपरीको लागि कच्चापदार्थ भने स्थानीयबाट खरिद गर्ने गरेको सञ्चालक सदस्य भावना पुलामीमगरले बताइन । 

 

कच्चापदार्थ बिक्रीबाट स्थानीयले प्रतिव्यक्ति ३ सयदेखि ५ सयसम्म आम्दानी लिने गर्छन् । फुर्सदको समयमा, गोठालो जाँदा अर्थात् घरमा बस्ने बुढापाकाहरुले पनि काम गरेर राम्रो आम्दानी लिइरहेको सञ्चालक पक्षको दाबी छ । 

सञ्चालिका सरिता बुढामगरले सानै छँदा माइती घर नवलपरासीदेखि सिकेको सीप सदुपयोग गरी स्थानीयलाई रोजगारी दिनको लागि व्यवसाय गरेको बताइन् ।

 आफ्नो माइतीघर नवलपरासीको देउरालीको उद्योगमा ३५ ओटा मेसिनले काम गरिरहेको उनी बताउँछिन् । दुनाटपरीले राम्रो बजार पाउँदा व्यापार पनि निकै फस्टाएको उनले थपिन् । 

दुवै सञ्चालिकाका श्रीमान रोजगारीको लागि विदेश गएपछि घरमा आयस्रोत केही नभएपछि दुनाटपरी उद्योग सञ्चालन गरेको उनीहरुको भनाई छ । 

 

अहिले उद्योगमा दैनिक एक हजार थानसम्म उत्पादन गर्न सक्ने क्षमता रहेको उनले जनाइन् । सुरुसुरुमा भएकोले व्यापार त्यति राम्रो नभए पनि उद्योग सञ्चालन गर्न भने त्यति असहज नभएको सञ्चालकहरु बताउँछन् । 

कैलाली जिल्ला भारतको सीमा नजिक पर्ने र प्लास्टिकका सामानहरु सस्तो पाईने भएकोले दुनाटपरीले त्यति बजार नपाएको सञ्चालकहरुको भनाई छ । 

पर्यावरणीय दृष्टिकोणले निकै फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएको भए पनि यसको प्रवद्र्धनका लागि सरकार तथा सम्बन्धित निकायले कुनै चाँसो नदिएको उनीहरु बताउँछन् । 

गाउँघर शहरमा बिवाह, भोजभतेर तथा ब्रतबन्धमा प्रयोग हुने दुनाटपरी कैलाली जिल्लाभरका स्थानीयहरुले प्रयोग गर्न थालेको बुढामगरले बताइन् ।

 

गाउँकै स्थानीय सासंदले चुनावको बेला उद्योगलाई प्रवद्र्धन गर्न सहयोग गर्ने बताए पनि आफ्नै घरमा भोजभतेर हुँदा प्लास्टिकका सामान प्रयोग गरेको देख्दा दु:ख लागेको बुढामगरले गुनासो पोखिन् । 

प्रतिक्रिया दिनुहोस्