आलाेचना असह्य भएपछि नेता नेपालद्वारा आफ्नै बचाउ



काठमाडौं : नेकपा नेता माधव कुमार नेपालले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनलाई लिएर आफूलाई मात्र दोषी ठहर गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

नेकपा स्थायी समिति बैठकमा आइतबार आफ्ना धारणा व्यक्त गर्दै तेस्रो वरीयताका नेता नेपालले सरकारले अह्राएको काममात्रै आफूले गरेको दाबी पनि गरे ।

बैठकमा एसिया प्यासिफिक सम्मेलनलाई लिएर नेता नेपालमात्रै नभएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको पनि आलोचना भएको थियो । बैठकमा सम्मेलनको अध्यक्षता गरेको भन्दै स्थायी समिति सदस्यबाट नेता नेपालको बढी नै आलोचना भएको छ । नेता नेपाल उक्त सम्मेलनको आयोजक थिए । 

बैठकमा नेता नेपालले सम्मेलन आयोजना गर्नुमा कुनै नराम्रो नियत नरहेको भन्दै आफ्नो बचाउ गरे । विदेश राष्ट्रप्रमुखसमेत सहभागी भएको उक्त सम्मेलनमा एसियाली राजनीतिक पार्टीहरुको संस्था (आइक्याप) का तर्फबाट आफूले अध्यक्षता ग्रहण गरेको स्पष्टीकरण नेता नेपालले दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

 

उनले त्यस्तो सम्मेलन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकै पालादेखि हुँदै आएको भन्दै आफूलाई निर्दोष साबित गर्न खोजेका थिए । उनले कार्यक्रममा विदेशी पाहुनाहरुलाई स्वागतमात्र गरिएको भन्दै आफ्नो नियतमाथि शंका नगर्न आग्रह गरेका थिए ।

 

राष्ट्रअध्यक्षहरू समेत सहभागी भएको कार्यक्रम सफल पार्नु सरकारको दायित्व भएको र आफूले पनि त्यसमै सहयोग गरेको उनको तर्क थियो । एउटा कुनै धार्मिक मान्यता बोकेको संस्थाको धर्म प्रचार गर्न आयोजित कार्यक्रममा प्रमुख भूमिका निर्वाह गरेको भन्दै नेता नेपालको व्यापक आलोचना भइरहेको छ । सम्मेलनमा आउने पाहुनालाई स्वागत गर्न भनेर तीन दिनसम्म सोल्टी होटलमा गई बसेको भनेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको पनि आलोचना भएको छ ।

बैठकमा नेता नेपालले धर्मनिरपेक्षताप्रतिको प्रतिबद्धतामा शंका नगर्न समेत आग्रह गरेका थिए । एसिया प्रशान्त सम्मेलन कुनै धार्मिक उद्देश्यले प्रेरित नभएको दाबी गर्दै उनले बरु कार्यक्रमले मुलुकको विकास, समृद्धि र समुन्नतिमा सघाउ पु¥याएको टिप्पणी गरे ।

 

कार्यक्रमबाट नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको दाबी पनि उनले गरे । कार्यक्रममा त्रुटि भएको भए आगामी दिनमा सच्याउने तर त्यसैलाई बहाना बनाई कुनै नेताको मानमर्दन गरिए पार्टी र सरकारलाई कमजोर बनाउने तर्कसमेत उनको थियो ।

प्रतिक्रिया दिनुहोस्