धरान मेयर उम्मेदवार छनौट : कांग्रेसमा सर्वसम्मत, नेकपामा किचलो



धरान : निर्वाचन आचारसंहिता लागू भइसक्दासम्म पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धरान उपमहानगरपालिका मेयर पदको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न सकिरहेको छैन । मंसिर १४ गते हुन गइरहेको यो निर्वाचनका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सर्वसम्मत रुपमा नगर सभापति तिलक राईलाई आफ्नो उम्मेदवार छनौट गरी प्रचार कार्यलाई तीव्रता दिइरहेको छ ।

तर सत्तारुढ दल नेकपामा मेयरको उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनौट केही सकस हुन गएको देखिएको हो । पार्टीभित्र रहेका गुट तथा उपगुटहरुका कारण पनि सर्वसम्मत उमेदवार छनौट गाह्रो हुन गएको छ ।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधरको विवादका कारण उम्मेदवार छनोट समयमै हुन नसकेको हो । धरानमा नेपाल पक्षधर बलियो भएकाले पनि अध्यक्षद्वय निर्णयमा पुग्न नसकेको बताइन्छ ।

मेयरको सम्भावित उम्मेदवार छनौटमा आन्तरिक गृहकार्यका लागि नेपाल पक्षधरले नेकपाका जिल्ला सदस्य प्रकाश राईलाई अगाडी सार्दा ओली समूहबाट विजय राई र दाहाल खेमाबाट अईन्द्रबिक्रम बेघा, फोक्वाहाङ सुब्बा अनि अशोक राईसम्मको चर्चा भएको थियो ।

नेकपा धरान नगरकमिटीले मेयरको उम्मेदवारका लागि प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), र सदन उच्च माविकी शिक्षिका रहेकी बेणु काफ्लेको नाम सिफारिस गरेको थियो ।

धरान नगर कमिटीबाट यि तीन जनाको नाम सिफारिस भएतापनि प्रदेश कमिटीले विजय राईको नाम थपेर पठाएको छ । यसबाट पनि नेकपामा आन्तरिक गुठको रस्साकस्सी भएको पुष्टि हुन्छ ।

शीर्ष नेतृत्व पनि अनिर्णयको बन्दी हुन पुग्ने वातावरण स्वयम् नेताहरुकै निषेधको राजनीति गर्ने चाहना र प्रवृत्तिका कारण सिर्जना हुन गएको स्थानीय नेता तथा कार्यकर्ताहरुको गुनासो छ ।

तात्कालीन एमालेका तर्फबाट विजयी लोकप्रिय नेता तथा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको ५२ वर्षको उमेरमा उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएपछि उक्त स्थान खाली हुन गएको थियो ।

प्रतिक्रिया दिनुहोस्