गोकर्णेश्वर नगरपालिकालाई बेइजिङ महानगरको साथ



काठमाडौ : अवलोकन भ्रमणमा आएको बेइजिङ महानगरपालिकाको प्रतिनिधिमण्डलले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न परियोजनामा सघाउने भएको छ । शुक्रबार नगरप्रमुख सन्तोष चालिसे सहितको टोली र चिनीयाँ प्रतिनिधिबीच छवटा परियोजनामा भएको विशेष छलफलपछि बेइजिङ महानगरको टोलीले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

बेइजिङ महानगर प्रमुखको प्रतिनिधित्व गर्दैआएको चिनीया पक्षले नगरपालिकाले राखेका ५ वटा प्रस्तावमा सकारात्मक धारणा राख्दै सहयोग गर्ने बचन दिएको छ भने एउटा आफ्नै तर्फबाट परियोजना प्रस्ताव गरेको छ ।

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले दिएको जानकारी अनुसार चिनीया पक्षलसंग पशुपति–बौद्धनाथ हुँदै वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्म वाग्मतीको किनारै किनार पर्यटन मार्ग ‘धार्मिक पर्यटन प्लेट’ बनाउने विषयमा छलफल भएको र यसमा उनीहरु सकारात्मक रहेका छन् ।

त्यस्तै आन्तरिक तथा बाह्य पर्यटनको अपार सम्भावना रहेको यस नगरपालिकामा त्यसको प्रबद्र्धनका लागि गोकर्णमा वाग्मती नदीमा ड्याम बनाएर स्टीमर चलाउने परियोजना रहेको छ । यसको कार्य आरम्भ भैसकेको छ ।

त्यसै गरी कृषिको ५ वटा परियोजनामा वृहत छलफल भएको छ । जसमा नगरपालिकाको वडा नं। १ देखि ४ सम्म (सुन्दरीजलदेखि वालुवा)मा वृहत कृषि परियोजना संचालन गरिनेछ । त्यस्तै कृषि अन्तर्गत कौसी खेती, फोहरबाट मल बनाउने लगायत परियोजना रहेका छन् ।

प्रमुख चालिसेका अनुसार छलफलका क्रममा चिनीया पक्षले अर्गानिक कृषि भण्डार बनाइदिने प्रस्ताव गरेका छन् । नगरपालिकाले एक सय रोपनी जग्गा उपलब्ध गराए त्यहाँ उनीहरुले आधुनिक कृषि भण्डार बनाइदिने र त्यहाँ किसानले उत्पादन गरेका सामग्री भण्डार र बेचबिखन समेत गर्न सकिने गरी पूर्वाधार बनाइदिने चिनीया पक्षको प्रस्ताव छ ।

नगरपालिकाको अर्को महत्वपूर्ण प्रस्तावका रुपमा रहेको सुन्दरीजल विद्युत गृह रहेको छ । हाल चारसय किलोवाट क्षमतामा रहेको ऐतिहासिक विद्युतगृहको क्षमता वृद्धि गरी ३ मेगावाटसम्म पुर्‍याउन सकिने प्राविधिक अध्ययनले देखाएको बताउँदै मेयर चालिसेले चिनीया पक्ष यसमा सकारात्मक रहेको र यो परियोजना नगरपालिकाको स्वामित्वमा ल्याउने गरी क्षमता बढाइने जानकारी दिएका छन् ।

बेइजिङ महानगरकै निमन्त्रणमा गोकर्णेश्वर नगरपालिकाका प्रमुखसहितको टोली निकट भविष्यमै चीन भ्रमणमाा जानेछ । छलफलका क्रममा चिनीया टोलीले भ्रमणको निम्ता दिएको हो ।
अवलोकन भ्रमणमा आएको बेइजिङ महानगरपालिकाको प्रतिनिधिमण्डलले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न परियोजनामा सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्