यी हुन् अहिलेका हिट गायिकाहरु



काठमाडौं : नेपाली साङ्गीतिक क्षेत्रमा लोकगीत, आधुनिक गीत, पप गीतलगायत अन्य थुप्रै गीतहरुले उत्तिकै बजार पाउँछन् । बिरहको भाका देउडा, ठाडी भाका लगायतका गीतहरु सुन्नेको जमात बाक्लै छ । गीतका लय, शब्द, संगीत र मीठो स्वर भएका गायक, गायिकाले गाएका जुनसुकै प्रकारका गीतहरु पनि निकै लोकप्रिय ‘हिट’ हुन्छन् ।

यस्तै गायक–गायिकाको कुरा गर्दा कोही २/४ गीत गाएर हराएका छन् भने कसैले निरन्तर हिट गीत दिएकाहरु पनि छन् । हामीले यहाँ केही यस्ता गायिकाहरुको बारेमा चर्चा गर्दैछौँ, जसले गीतमार्फत स्रोताहरुको मन निरन्तर जित्न सफल भइरहेका छन् । निरन्तर जित्न सफल भइरहेका छन् ।

अन्जु पन्त

नेपाली साङ्गीतिक बजारमा गायिका अन्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि चर्चामा आइरहने र व्यस्त गायिकाको रुपमा चिनिन्छिन्, पन्त । सुमधुर स्वरकी धनी अन्जु अहिले खासै चर्चामा नरहेपनि उनको हातमा गीतको कमी भने छैन । ‘तीर्खा लाग्यो पानी खाँए..’ गीत गाएर रातारात चर्चामा आएकी गायिका हुन्, अन्जु पन्त । उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा आइराखेकी हुन्छिन् । उनले आधुनिक सेन्टिमेन्टल, रोमान्टिकदेखि थुप्रै फिल्ममा हिट गीत गाएकी छन् । उनले सफल गायिकाको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन् ।

मेलिना राई

अहिले नेपाली साङ्गीतिक क्षेत्रकी व्यस्त र निकै नै चर्चित गायिका हुन्, मेलिना राई । भनिन्छ, मेलिनाले जुन गीत गायो, त्यही नै हिट हुन्छ । उनले गायका निकै कम गीतमात्र छन्, जुन चर्चामा आएका हुँदैनन् । उनी नेपाली पप तथा आधुनिक गायिका हुन् । मेलिनाको टर्निङ प्वाइन्ट रह्यो–फिल्म ‘२ रुपैँया’को ‘कुटुमा कुटु’ । अहिले उनी सफलताको उच्च बिन्दुमा छन् । उत्कृष्ट शब्द रहेका गीतहरु नै उनको छनोटमा पर्ने हुनाले पनि यतिबेला उनलाई भ्याइनभ्याई छ । उनको स्वरलाई बुढापाकादेखि युवासम्मकाले मन पराउने गर्छन् । उनले थुप्रै हिट गीतहरु गायर साङ्गीतिक क्षेत्रमा योगदान पुर्याइरहेकी छन् ।

शान्तिश्री परियार

सुरुआती चरणमा सानासाना स्टेजमा गीत गाएर सबैको मन जितेकी गायिका शान्तिश्री परियार अहिले निकै नै चर्चामा छन् । उनको पहिलो एल्बम ‘घर छ तीन तले’ले त्यति चर्चा बटुल्न सफल नभएपनि त्यसपछि गाएको ‘एकतर्फी माया’ बोलको गीत उनका लागि गुडलक साबित भयो । उनलाई विशेषगरी लोक तथा दोहोरी गायिका भनेर चिन्ने गरिन्छ । उनले यतिमा मात्र सिमित नभई आधुनिक गीत समेत गाउने गर्छिन् । उनी प्रकाश सपूतको शब्द रहेको ‘बोल माया’ र ‘गलबन्दी’ मा स्वर दिएर झनै चर्चित भएकी छन् । यी दुबै गीतहरु नसुन्ने र मन नपराउने नेपालीहरु कमैमात्र भेटिन्छन् । अहिले उनको स्वरलाई मन पराइदिने लाखौँ नेपाली छन् भने उनले नेपाली साङ्गीतिक क्षेत्रमा अन्य थुप्रै हिट गीतहरु दिइसकेकी छन् ।

आस्था राउत

नेपाली युवा पप गायिकाको रुपमा चर्चित गायिका हुन्, आस्था राउत । आस्थाले पनि एक सफल गायिकाको रुपमा आफ्नो परिचय दिइसकेकी छन् । उनले विभिन्न नेपाली चलचित्रमा धेरै गीतहरु गाइसकेकी छन् भने थुप्रै एल्बम पनि प्रकाशन गरिसकेकी छन् । राउतको २०१६ मा सार्वजनिक भएको आधार एल्बमले निकै नै चर्चा बटुल्न सफल भएको थियो । आस्था पनि स्टेजमा रुचाइने गायिकामध्ये पर्छिन् । ‘सालको पात टपरी गाँसेर’ को रिमिक्स गाएपछि निकै चर्चामा आएकी उनका ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’ जस्ता गीतहरु चर्चामा छन् । हाल उनी गीत संगीतमा व्यस्त हुनुका अलवा अन्तर्राष्ट्रिय सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’की कोच समेत छन् । यस शोले उनको चर्चा अझ चुलिएको छ भने उनलाई कोचको रुपमा निकै मन पराइएको छ ।

प्रविशा अधिकारी

पाश्र्व गायिकाका रुपमा परिचित छन्, प्रविशा अधिकारी । ‘बिदाई’ चलचित्रको गीतबाट पाश्र्व गायनमा प्रवेश गरेकी प्रविशा चलचित्र ‘कसलाई दिउँ यो जोवन’को ‘तिमी जहाँ छौ’ बोलको गीत गाएर बढी चर्चामा आएकी थिइन् । उनले धेरै हिट गीत दिइसकेको भएपनि कम चर्चामा आउने गायिकामा पर्छिन्, प्रविशा । प्रविशाले चलचित्र ‘ए मेरो हजुर ३’ को ‘जीन्दगी नै भन्दिन’ र ‘रोजी’ को ‘फूल होइन’ बोलका थुप्रै चर्चित गीतहरु गाएकी छन् । साथै उनले अन्य थुप्रै चलचित्रमा आफ्नो स्वर दिएर स्रोताहरुको मन जित्न सफल भएकी छन् भने सफल गायिकाको पगरी पनि थापिसकेकी छन् । उनको सुन्दरता र स्वर दुबै तारिफयोग्य छ ।

कमला घिमिरे

बाल गायिका कमला घिमिरे अहिले ‘हटकेक’ हुन पुगेकी छिन् । सामाजिक सञ्जालमार्फत भाइरल भएकी उनी दोहोरी गायिकाको रुपमा परिचित छन् । धादिङकी कमला उमेरले भर्रखर ११ मा टेक्दै गरे तापनि उनकोे चर्चा व्यावसायिक लोककलाकारभन्दा कम छैन । लोक दोहोरीमा अब्बल रहेका अन्य कलाकारहरुलाई यी बाल गायिकाले हराउँदै आएकी छन् । उनका दोहोरी गीतहरु राष्ट्रिय टेलिभिजनहरुमा आउन थालेपछि उनी आफ्नो स्कुलमात्र होइन्, देश–विदेशमा छाएकी छन् ।

कमलाको व्यस्तता दिनप्रतिदिन बढ्दो छ । यसैबीच उनी इन्द्रेणी कार्यक्रममा दोहोरी गाउन काठमाडौं आएकी थिइन् । चर्चित गायकहरु राजु परियार, समाजसेवी तथा कलाकार शिशिर भण्डारी लगायत अन्य धेरै कलाकारहरुसँग गीत गाएर सबैलाई चकित पारेकी कमलाले अवसर पाए धेरै प्रगति गर्न सक्ने सम्भावनाको क्षितिज खोल्दै गइरहेकी छन् । युवादेखि बुढापाकाको प्यारी बन्न पुगेकी कमलालाई उज्ज्वल भविष्यको शुभकामना !

प्रतिक्रिया दिनुहोस्