जनकपुरका वडामा छैन खाेप, अभिभावक शिशु बाेकेर आउँदै फर्किँदै



                               शिशु बाेकेर खाेप लगाउन वडा कार्यालय पुगेका अभिभावक अलपत्र अवस्थामा ।

 

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाका वडामा एक वर्षदेखि बिसिजी खोप अभाव देखिएको छ ।

शिशु जन्मेको ४५ दिनभित्र दिनुपर्ने बिसिजी खोप लगाउन शिशुलाई लिएर आउनेहरु त्यत्तिकै फर्किनुपर्ने अवस्था छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको लापरबाहीको कारण यस्तो समस्या देखिएको स्थानीयको आरोप छ । जनकपुरको वडा नं. ८ मा नवजात शिशु लिएर आइतबार खोप लगाउन पुगेकाहरु सरोकारवाला निकायको लपरबाहीको कारण त्यत्तिकै फर्किन बाध्य भए । 

जिल्ला जनस्वास्थ्य कार्यालय खोप नै उपलब्ध नगराएकाले समस्या भएको वडासचिव कृष्णकुमार झाले बताए । ‘हाम्रो वडामा प्रत्येक महिनाको ८ गते खोप दिने पालो हुन्छ तर आज हामीसँग न त बिसिजीको खोप छ न पोलियोको नै’, अनमी सुनीता यादवले भनिन् ।

अघिल्लो महिना पनि खोप उपलब्ध नभएको स्थानीय अवधकिशोर साहले बताए । उनका अनुसार अघिल्लो महिना पुस ८ मा आउन भन्दै फर्काइएको थियो । ‘यो महिना पनि खोप नहुँदा त्यत्तिकै फर्किनुपर्यो’, उनले भने ।

स्वास्थ्य र शिक्षा स्थानीय सरकारको जिम्मामा आए पनि सर्वसाधारणलाई शिक्षा तथा स्वास्थ्यसेवा उपलब्ध गराउन स्थानीय तहका जिम्मेवार नभएको देखिएको छ । अहिले स्थानीय तहमा कर्मचारी आन्दोलनमा रहेका कारण समस्या देखिएको जनप्रतिनिधिहरुको भनाइ छ ।

 

राजपा नेपालका स्थानीय नेता रोशन सिंह राणाले जस्तै आन्दोलन भए पनि बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्