सुनामीबाट मृत्यु हुनेकाे संख्या १६८ पुग्याे



जकार्ता : इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट मृत्यु हुनेकाे संख्या १ सय ६८ पुगेको छ । 

इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १ सय ६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । 

दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवनहरु ध्वस्त भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए । घाइतेकाे संख्या ७ सय ४५ पुगेकाे छ । हराएको व्यक्तिको खोजी कार्यका कठिनाइ देखिएको प्रवक्ता सुटोपोले बताए ।

इन्डोनेसियामा बारम्बार ज्वालामुखी विस्फोट भएको पाइन्छ । शनिबार राति विस्फोट भएको यस ज्वालामुखीको नाम ‘क्राकाटोआ’ हो । ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । 

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेकाे समाचार एजेन्सीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्