ओली स्पष्टीकरण : देशको शिर निहुरिने काम भएको छैन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्यासिफिक सम्मेलनका क्रममा देशको शिर निहुरिने काम सरकारबाट नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३औं जन्मोत्सवका अवसरमा आइतबार दिउँसो आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एसिया प्यासिफिक सम्मेलनजस्ता कार्यक्रममा नेपाल सरकारबाट पहिले पनि सहभागिता हुँदै आएको दाबी गरे । 

विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकार प्रत्यक्ष सहभागी भएको भन्दै आलोचना भइरहेको छ । कुनै धार्मिक संस्थाको स्वार्थ पूरा गर्न सरकारी शक्ति दुरुपयोग गरेको भन्दै ओलीकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि आलोचना भइरहेको छ ।

नेकपाको चालू स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यले एसिया प्यासिफिक सम्मेलनको प्रसंग उठाउँदै पार्टी अध्यक्ष ओली एवं तेस्रो वरीयताका नेता माधव नेपालको चर्को आलोचना गरेका छन् । कोरियाली दम्पतीद्वारा सञ्चालित युनिभर्सल पिस फेडेरेसन विश्वभार विवादित संस्था हो ।

स्थायी समितिको आइतबारको बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सक्रियतालाई लिएर नेता नेपालले लामै स्पष्टीकरण दिएका छन् । उनी उक्त सम्मेलनको अध्यक्ष थिए । त्यस्तै प्रधानमन्त्री ओली सम्मेलनमा आएका पाहुनालाई स्वागत गर्न भन्दै सरकारी निवास छाडेर तीन दिनसम्म सोल्टी होटलमा गई बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्