सरकारलाई कर्मचारीको चेतावनी : समायोजन अध्यादेश तत्काल संशोधन नगरे अकल्पनीय क्षति



काठमाडौं : राष्ट्रिय कर्मचारी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाले कर्मचारी समायोजन अध्यादेश तत्काल संशोधन नगरे सरकारलाई अकल्पनीय क्षति हुने चेतावनी दिएका छन् । 

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बानियाले सम्पूर्ण कर्मचारीको हितको लागि आफूहरु क्रियाशील रहने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘हामीले सरकारका तर्फबाट भएका नराम्रा क्रियाकलापको विरोध गर्दै आएका छौं । कर्मचारीको हित र जनताको सेवा प्रभावकारी बनाउनुपर्नेमा निरन्तर बोल्दै आएका छौं । मंसिर २६ गते सरकारले संसद्लाई छलेर ल्याएको कर्मचारी अध्यादेशविरुद्ध पहिलोपटक बोल्ने हामी नै हौं । आज अन्य संगठनहरुले पनि साथ दिइरहेका छन् ।’

कर्मचारी समायोजनसम्बन्धमा सरकार आफ्नो निर्णयबाट पछि हट्नैपर्ने उनले बताए । बानियाले भने, ‘यसभन्दा पहिले १५ बुँदे माग पेस गरेका छौं, सरकारले अहिलेसम्म सुनेकोजस्तो गरेको छैन । हाम्रा माग उचित र न्यायोचित छन् । त्यसैले सरकारले हाम्रा माग पूरा गर्नैपर्छ ।’ 

संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एकसाथ संसद्बाट ल्याउनुपर्ने पनि बानियाले बताए । सरकारले कर्मचारीलाई हतोत्साही पार्ने काम तत्काल रोक्नुपर्ने पनि उनको धारणा छ ।  

नवनिर्वाचित महासचिव अमरसिंह वलीले कर्मचारीमा विभाजन ल्याएर कर्मचारीकै अवमुल्ययन गर्न नहुनेमा जोड दिए । उनले भने, ‘हारेको सिपाई बनाएर खटाइएका कर्मचारीबाट संघीयता कार्यान्वयन हुन सक्दैन ।' उनले सम्मानजनक रुपमा कर्मचारीलाई काममा खटाउन माग गरे।

उनले थपे, 'विश्वको अभ्यासअनुसार हाम्रो देशमा पनि कर्मचारी समायोजन गर्नुपर्छ, निहित व्यक्तिगत स्वार्थका कारण भोलिका दिनहरुमा वित्तीय आयोगको अध्यक्ष, संवैधानिक आयोगको प्रमुख हुने मनशायले केही प्रशासकले यो विभेदकारी अध्याध्यदेश ल्याएका छन् । कर्मचारी समायोजन ऐन–२०७४ हुँदाहुँदै संसद्लाई छलेर यो अध्यादेश जारी हुनु दुर्भाग्य हो ।’ 

महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक गोपालसिंह धामीले अध्यादेश तत्काल संशोधन गर्न माग गरे । उनले भने, ‘केही कर्मचारीको इसारामा संसद् छलेर अध्यादेश ल्याइएको छ । यस्तो अवस्थामा हामीलाई स्वीकार्य हुन सक्दैन । उत्पीडनमा परेका कर्मचारीका बारेमा सरकारले सोचेन र तत्काल अध्यादेश संशोधन गरेन भने अकल्पनीय क्षति बेहोर्नुपर्नेछ ।’ 

 

बानियाको नेतृत्वमा नयाँ कार्यसमिति

महासंघको हालै सम्पन्न अधिवेशनबाट बानियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा रामबहादुर रावल र सरस्वती जोशीका साथै महासचिवमा वलीलाई चयन गरेको हो । त्यस्तै सचिवमा प्रकाशबहादुर रावल र कोषाध्यक्षमा हरिहर बस्नेत, सहकोषाध्यक्षमा रवीन्द्र देउलासहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्