जाडो छल्न शिक्षकलाई सामूहिक बिदाइ



सुर्खेत : हुम्लाका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई जाडो छल्न सामूहिक रुपमा बिदाइ गरिएको छ । अत्यधिक चिसोका कारण विद्यालय सञ्चालन गर्न नसकिने भएकाले हिउँदे बिदामा बस्ने कर्मचारीलाई सामूहिक रुपमा बिदाइ गरिएको हो । 

हुम्लाको चंखेली गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा अध्यापन गराउने ४२ जना शिक्षकलाई बिदाइ गरिएको हो । चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आइतबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई बिदाइ गरिएको गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए । 

यस शैक्षिक सत्रको वार्षिक परीक्षा समाप्त भएको र नयाँ शैक्षिक सत्रको पढाइ फागुनदेखि हुने भएकाले दुई महिनाका लागि शिक्षकलाई बिदाइ गरिएको उनले जानकारी दिए । 

‘यो शैक्षिक सत्रको सबै पढाइ समाप्त भई वार्षिक परीक्षासमेत सकिएको छ’ अध्यक्ष चौलागाईंले भने, ‘अब दुई महिना विद्यालय बन्द हुन्छन्, त्यसैले बिदामा जाने सबै शिक्षकलाई सामूुहिक रुपमा फागुन २ गते हाजिर हुनेगरी बिदाइ गरेका हौं ।’ 

तोकिएको समयमा बिद्यालय बन्द र तोकिएकै समयमा सञ्चालन सुरु गर्न शिक्षकलाई उत्प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले सामूहिक बिदाइ गरेको हो । 

कार्यक्रममा चौलागाईंले विद्यालय सुरु हुने पहिलो दिन नै सबै शिक्षकलाई उपस्थित हुन आग्रह गरे । ढिलाइ गर्नेलाई कारबाही गर्ने समेत उनले बताए । 

अत्यधिक जाडोका कारण सरकारले हुम्लामा पुसको पहिलो साता वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेपछि फागुन २ गतेसम्म मीनपचासको बिदा दिने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्