देउसीभैलीको रकम बेसहारालाई



लम्की : गुडीमुन्टे जोडी र टीकापुर अनलाइन टिभीले देउसीभैलीबाट सङ्कलित रकम ‘मेरी आमा’ नामक संस्थामा बस्ने बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले टीकापुर नगरपालिका–२ स्थित सञ्चालित मेरी आमामा बस्ने बालबालिकालाई देउसीभैलीबाट सङ्कलित रु ७७ हजार ६७८ बाट न्यानो लुगा र ओढ्ने ओछ्याउने सामग्री हस्तान्तरण गरेका हुन् ।

गुडीमुन्टे जोडीका संयोजक राजेन्द्र विकले बालबालिकालाई थोरै भए पनि सहयोग गरौँ भन्ने भावनाले देउसी खेलेको बताए । “यहाँ बस्ने बालबालिकालाई आवश्यक लुगाको अभाव देख्यौँ, जाडोमा आवश्यक न्यायो लुगा पनि रहेनछ”, विकले भने, “देउसीभैलो खेल्ने सल्लाह ग-यौँ, अनि उठेको रकम सहयोग गरेका हौँ ।”

टीकापुर नगरपालिका–२ का वडाध्यक्ष प्रकाश बुढाथोकीले देउसीभैलोका रकम वनभोज खाएर खर्चिनुभन्दा बालबालिकालाई सहयोग गर्नु राम्रो सन्देश गएको बताए । वडाध्यक्ष बुढाथोकीले बालबालिकालाई वडा कार्यालयले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले युवाहरुले समाजका लागि सकारात्मक सन्देश दिएको बताए ।

“हरेक युवाहरुले समाजका लागि आ–आफ्नो क्षेत्रबाट रचनात्मक कार्य गर्न सक्नुपर्छ”, भण्डारीले भने, “सकारात्मक काममा सधैँ निजी क्षेत्रको साथ र सहयोग रहनेछ ।” मेरी आमामा १० जना बेसहारा बालबालिका बस्दै आएका छन् । अभिभावकविहीन ती बालबालिकालाई दिव्या प्रयासीले लालनपालन गर्दै आइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्