आलाेकाँचो तर काममा ‘राम्री’ पूजा



उमेरले आलोकाँचो तर विश्वास र बुझाइले अग्ली छिन् मैथिली चलचित्रकी नायिका पूजा दास मुस्कान । अल्लारे उमेरका सोच, चाहना र व्यवहार एकनासका हुँदैनन् । उपद्रवी बन्न मन लाग्छ । हाउभाउ र बोलीचालीकै कारण सबैको ध्यनाकृष्ट होस् भन्ने लाग्छ । 

 

पूजा पनि फरक थिइनन् वा होइनन् । छेउछाउकाहरूले उनको कुरा गरून् अझै सुन्दरताको वर्णन नै गरून् भन्ने उनलाई पनि नलागेको होइन । यसले जीउडालप्रति ‘कन्सस’ बनायो उनलाई । 

 

छरितो शरीर अनि आकर्षक पहिरनमा देखिन थालिन् उनी । कुनै प्रशाधन प्रयोग नरीकनै ‘राम्री’ देखिने उनको कायालाई तेजिलो अनुहारले अझै हेर्नलायक बनाउँछ । 

 

यस्तैमा उनले आफ्नो सुन्दरतालाई सार्थक काममा लागि उपयोग गर्ने योजना बुनिन् । र, प्लस टु पढिरहँदा नै कलाक्षेत्रमा संलग्न भइन् । सशक्त अभिनय र दमदार आवाजमा मानिसको चाहना, भावना र संवेदनालाई हजारौं दर्शकसामु पस्किने इच्छाले चलचित्र क्षेत्रमा आबद्ध भइन् । 

 

एक वर्षअघि चलचित्रमा काम गर्ने उनको योजनाले मूर्त रूप लिइरहँदा उनले पटक्कै चिताएकी थिइनन् कि ग्ल्यामरको संसार भनेर चिनिने रजतपटमा उनले यत्तिधेरै माया पाउँछिन् भनेर । तर, पहिलो चलचित्र भीमसेन आएपछि नै सबैका नजरमा परेकी उनले लगालग काम पाउन थालेकी छिन् । 

 

‘मिसन मधेस’ र ‘चाभी द की’ नामक चलचित्रमा काम गरिसकेकी उनले एउटा नयाँ फिल्म साइन गर्ने तयारीमा छिन् । 

 

‘चलचित्रमा काम गर्छु भन्नु र साँच्चिकै गर्नुमा धेरै अन्तर छ । चलचित्र उत्पादन प्रक्रिया निकै जटिल काम हो । जसमा सबैको आफ्नो जिम्मेवारी हुन्छ । र, तपाईंको हिस्सा प्रभावकारी नहुँदा सिंगो फिल्ममा नै असर पुर्‍याउँछ,’ पूजाले भनिन्, ‘त्यसैले आफ्नो कामप्रति धेरै नै निष्ठावान् रहनुपर्छ । ससाना कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ ।’

 

हो, पूजाको काममा उमेरका बाछिटा देखिँदैनन् । आफ्नो भूमिकालाई गहिरिएर बुझ्ने र त्यसअनुरूप इमान्दार भएर निर्वाह गर्ने प्रवृत्ति पूजामा देखिन्छ । ‘म सधैं आफूलाई हिजोको भन्दा आज राम्रो होस् भन्ने बनाउन चाहन्छु । यस क्षेत्रमा टिक्नका लागि राम्रीमात्र भएर हुँदैन काम पनि राम्रो हुनुपर्छ,’ पूजाले भनिन् । 

 

मैथिलीभाषाका म्युजिक भिडियोमा समेत काम गरेकी उनको ‘काम’ मात्र गर्ने योजना छ । चलचित्र फाँटमा नानाथरिका कुरा हुन्छन् । तर ती कुरासँग आफ्नो कुनै पनि सरोकार नरहेको उनले सुनाइन् । 

 

उनले भनिन्, ‘चलचित्रकर्मीहरूले चर्चा बटुल्न खोज्छन् । यसका लागि अनेक फन्डा प्रयोग गर्छन् । तर मचाहिँ आफ्नो कामबाट चिनाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्