महागरपालिकाले प्रअ सरुवा गरेपछि सामुदायिक विद्यालय ठप्प



वीरगन्ज : वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले विभिन्न विद्यालयका प्रधानाध्यापकको सरुवा गरेपछि शिक्षक र महानगरपालिकाबीच विवाद सुरु भएको छ । महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूको पठन पाठनलाई प्रभावकारी बनाउन शिक्षा महाशाखाले सात विद्यालयका प्रधानाध्यापकको सरुवा गरेपछि शिक्षकहरूले यसको विरोध गरेका हुन् । 

प्रधानाध्यापक सरुवाको विवादले कतिपय विद्यालयको पठनपाठन र परीक्षा प्रभावित बनेको छ । प्रधानाध्यापकको सरुवालाई कारण देखाएर शिक्षकहरूले पठनपाठन र परीक्षा नै स्थगित गरेका हुन । 

महानगरपालिकाले प्रधानाध्यापकको सरुवा गरेपछि विभिन्न शिक्षक सङ्गठनले आन्दोलनको घोषणा नै गरेका छन् । शिक्षक सङ्गठनहरूले पुस ९ र १० गते जिल्लाको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् । 

वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले गत बिहीबार त्रिजुद्ध रघुवीरराम महावीर प्रसाद मावि बिर्ता, माइस्थान विद्यापीठ मावि माइस्थान, नृ सिंह मावि पिपरा, सुरजीदेवी मावि श्रीपुर, रेल्वे मावि घण्टाघर, गीता गजेन्द्र मावि सुखचैनार  र लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी मावि कोन्हीयाका प्रधानाध्यापकको सरुवा गरेको थियो ।

समर्थन र विरोधमा उत्रिएका शिक्षकको उक्साहटमा दुई गुटमा विभाजित विधार्थीले पक्ष विपक्षमा नाराबाजी गर्दा केहिबेर नृ सिंह मावि तनावग्रस्त बनेको थियो । 

प्रधानाध्यापकको सरुवाकै विषयलाई लिएर माइस्थान विद्यापीठ माविमा पनि विधार्थीले महानगरका मेयर विजय सरावगीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रधानाध्यापक विनोद मेहतालाई महानगरपालिकाले अन्य विद्यालयमा सरुवा गरेको विरोधमा विद्यालयका शिक्षक पठनपाठन ठप्प पारेर गत शुक्रवारदेखि नै आन्दोलनमा छन् । 

शिक्षक विद्यार्थीको आन्दोलनमा महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले समर्थन जनाएकी छिन् । बोर्डमा कुनै छलफल नगरी मेयर सरावगीले आफूखुसी प्रधानाध्यापकको सरुवा गरेको उनको आरोप छ । 

यसैबीच, मेयर सरावगीले आफूविरुद्ध प्रदर्शन गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएका छन् । सरुवा नियमित प्रक्रिया भएकाले यसको विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको सरावगीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्