बाह्रबिघाको दुर्दशा : मोदी भ्रमणमा कुचो बोकेर सेल्फी लिनेहरू कहाँ हराए 



जनकपुरधाम : ऐतिहासिक महत्व बोकेको जनकपुरधामस्थित बाह्रबिघा (रंगभूमि) मैदान पार्किङस्थलमा परिणत भएको छ । रंगभूमि मैदानमा जथाभावी सवारीसाधन पार्किङ गरिँदा यस ठाउँको सांस्कृतिक र आध्यात्मिक पहिचानमा गम्भीर धक्का पुगेको छ । 

‘सरसफाइ अभावले फोहोरको डंगुर बन्दै गएको रंगभूमि मैदानको गरिमालाई अव्यवस्थित ढंगले गरिने सवारीसाधन पार्किङले समेत कमजोर बनाएको छ,’ जनकपुरधाम–१० का रामखेलावन यादवले भने । उनले सरसफाइमा ध्यान नदिइँदा बाह्रबिघामा नाक थुन्नुपर्ने स्थिति रहेको बताए । ‘बाह्रबिघा कुरूप भएको छ,’ उनले भने ।  

सीताराम विवाहपञ्चमी सकिएको दुई साता बितेको छ । तर, बाह्रबिघाको सफाइ अझै हुन सकेको छैन । सहरको बीचमा रहेको रंगभूमि मैदानमा धार्मिक अनुष्ठान, ठूल्ठूला महोत्सवदेखि सभासम्मेलनसम्म हुने गरेका छन् ।

दुई साताअघि यो ठाउँलाई रामसीता स्वयंवरस्थलका रूपमा प्रयोग गर्न सिंगारिएको थियो । सीतारामको वैवाहिक विधि स्वयंवर यसै स्थानमा हुने गर्छ । गत मंसिर २६ गते भएको सीताराम विवाह महोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत बनेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीसहित यस मैदानमा आएका थिए ।

उनको स्वागत तथा अभिनन्दनसमेत यसै मैदानमा गरिएको थियो । स्वयंवरमा योगीसँगै लाखौं श्रद्धालुभक्तजन सरिक भएका थिए । तर, दुई साता बित्दासमेत सरोकारवाला निकायले रंगभूमि मैदानको सरसफाइमा ध्यान दिएका छैनन् । 

यस मैदानलाई व्यवस्थित गर्नमा समेत ती निकायहरूले चासो देखाएका छैनन् । रंगभूमि मैदानमा अहिले  एम्बुलेन्सदेखि भाडाका साना गाडीसम्म जथाभावी पार्किंग हुने गरेका दृश्य सजिलै देख्न सकिन्छ । मैदानमा प्लास्टिक, कागजको टुक्रा जहीँतहीँ छरिएका देखिन्छन् ।

रंगभूमि मैदानमा बिहान र बेलुकी हिँड्डुल गर्न जानेहरूले ‘वाक’ गर्ने स्थान परिवर्तन गरेका छन् । मैदानमा छिर्नेबित्तिकै दिसापिसाबको दुर्गन्धमा परिने जोखिमका कारण उनीहरूले हिँड्डुल गर्ने ठाउँमा बदलेका हुन् ।

विवाहपञ्चमीभन्दा पहिले सधैँजसो सरसफाइ गर्ने अभियानी अहिले कहाँ हराए भन्ने प्रश्न स्थानीयले गर्न थालेका छन् ।

दुई साताअघि विवाहपञ्चमीका लागि करिब दुई करोड़ रुपैयाँ खर्च गरेको मूल आयोजक जानकी मन्दिर र जनकपुर उपमहानगरपालिकाले अहिले सरसफाइ नगरेको भन्दै स्थानीय युवा सरोज मिश्र दुःख व्यक्त गर्छन् । उनको प्रश्न छ, ‘मोदी आउने बेला झाड़ु लिएर फोटो खिचाउनेहरू आज कहाँ गए ?

जनकपुरधाम–१० निवासी बलराम कर्ण भन्छन्, ‘उत्सव समापन र पाहुनाको बिदाइपछि तत्काल फोहोर सोहोर्नुपथ्र्यो, तर यसो भएन ।’ रंगभूमि मैदानमा चारैतिर निर्माण गरिएका गेट अहिलेसम्म खुला नै छन् । जनकपुरको मुख्यबजार र जानकी मन्दिरवरपर पार्किंगको समस्या भएकाले पर्यटकले आफ्नो सवारीनसाधन यस मैदानमै पार्किंग गर्दै आएका छन् ।

जनकपुर उपमहानगरपालिका कार्यालयका सरसफाइ इन्चार्ज ललन कर्णले नेपाल जेसिजको कार्यक्रमका लागि सबै जनशक्ति परिचालन गरिएकाले रंगभूमि सफाइमा ढिला भएको बताए । उनका अनुसार सोमबार त्यहाँ सफाइकर्मी पठाइनेछ । 

पार्किंगका लागि रंगभूमि मैदान सूचीकृत नगरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्