अमेरिकीले टीपीएस सुविधाको म्याद थप्यो, ९ हजार नेपाली लाभान्वित



अमेरिका : नेपालमा सन् २०१५ मा गएको भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधा १० महिना थपिएको छ। अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजातसम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिखसम्म कायम रहनेछ।

सन् २०१५ मा हजारौंको नेपालीको ज्यान जाने गरी गएको भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले टीपीएस सुविधा उपलब्ध गराएको थियो। अमेरिकी सरकारले नेपाललगायत अन्य ६ मुलुकलाई प्रदान गरेको टीपीएस थपिएको हो। नेपालले यसअघि सन् २०२० को मार्च २४ तारिखसम्म यस्तो सुविधा पाएको थियो।

सुविधा थपिएसँगै यस्तो स्टाटसमा रहेका नेपालीले सन् २०२१ जनवरीसम्म काम गर्ने कागजात, वर्क परमिट र नेपाल जानआउन पाउने पत्र, ट्राभल डकुमेन्ट प्राप्त गर्नेछन्। यस्तो सुविधा लिने नेपालीको संख्या अमेरिका करिब ९ हजार हाराहारी रहेको जनाइएको छ। अमरिकी सरकारले आफ्नो सूचना पाटीमार्फत टीपीएस सुविधा एकपटक लिएका र पुनः लिन चाहनेहरूका लागि अवसर रहेको उल्लेख गरेको छ। सरकारले एकपटक सुविधा लिएका र बीचमा निवेदन दिन छुटेकाका लागि पुनः निवेदन दिन सक्ने उल्लेख गरेको छ। त्यसका लागि सन् २०१५ मा टीपीएस लिएको हुनुपर्ने र बीचमा पुनः दर्ता नर्गनुको कारणसहित पुनः निवेदन दिनुपर्नेछ। अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्