विधानको लफडाले उद्योग वाणिज्य महासंघमा महासंग्राम



काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कार्तिक महिनाभित्र विधान संशोधनका लागि आह्वान गरिरहँदा यसको विपक्षमा रहेका महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष शेखर गोल्छा लगायतले विधान संशोधन नगर्नका लागि चर्को लबिङ गरिरहेका छन् । शेखर गोल्छालाई अध्यक्ष बनाउने गरी यो टिम अगाडि बढेको छ ।

मुरारका–गोल्छा टिमले अहिलेकै विधानलाई निरन्तरता दिने र विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने कुरालाई उठाएको छ । यसले वरिष्ठ उपाध्यक्ष रहेका गोल्छा स्वतः अध्यक्ष हुने ढोका खुल्ला गरिदिएको छ । हालकी अध्यक्ष भवाणी राणा पनि यही विधिअनुसार अध्यक्ष चुनिएकी हुन् ।

महासंघको विधान संशोधनपछि अध्यक्ष पद प्रत्यक्ष निर्वाचित हुने बनाइने छ । विधान असंशोधनीय दस्तावेज नभएको भन्दै संशोधनका पक्षधरहरु खुल्लमखुल्ला लबिङमा उत्रिएका छन् ।

वाकयुद्ध चलिरहेकै बेला महासंघका पूर्वउपाध्यक्ष भाष्कर राजकर्णिकारले स्वतः अध्यक्ष हुन पाउने विधान आफैमा प्रजातान्त्रिक नभएकाले संशोधन जरुरी भएको बताएका छन् । महासंघमा विधान संशोधनको विषयलाई लिएर उत्पन्न विवाद सडकसम्म आएको छ ।

विधान संशोधन त जरुरी छ किनकि देशमा हाल भएको परिवर्तित संरचना अनुसार प्रादेशिक प्रतिनिधित्वको ग्यारेन्टी गर्नु छ । तर यही संशोधनको अनिवार्यतासँगै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था अन्त्य गर्नका लागि पनि संशोधनको कुरा उठेकाले यसले विवादको रुप धारण गर्न पुगेको छ । यसैलाई समेट्दै अनिवार्य बन्न गएका कार्यकाल, वस्तुगत क्षेत्रको मतभार संख्या, नयाँ बनेका जिल्ला÷नगर÷गापा संघलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत ३५–बुँदा मस्यौदा संशोधनका लागि अघि सारिएको छ ।

महासंघको अध्यक्षको चुनाव धेरै खर्चिलो हुने, यसले अस्थिरता ल्याउने, कुरा पनि एकसाथ उठेका छन् । यो पक्षधरको नेतृत्व गरिरहेका शेखर गोल्छा संशोधनका लागि अघि बढेका चण्डिराज ढकालहरुलाई ‘आउट’ गर्न तीन करोडको थैली बोकेर हिंडिरहेको कुरा पनि सार्वजनिक हुन आएका छन् ।

भित्री चलखेल तीब्र बन्दै गर्दा गोल्छाले ढकाल दसैंतिहारमा बाहिर गएको अवसर पारी आफ्नो पक्षमा माहोल खडा गरेको महासंघकै पदाधिकारीको आरोप छ । विधान संशोधन प्रस्ताव फेल गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान कायम राख्न आफूहरु सक्षम रहने उनीहरुको दाबी छ ।

गोल्छा समूहको क्रियाकलापको पिछा गरिरहेका ढकाल समूह आफूहरुले भनेको झैं हुने भन्दै विधान संशोधन गराई छाड्ने अभियानमा लागिपरेको बताएका छन् । यस्तो रस्साकस्सी चलिरहँदा वर्तमान अध्यक्ष भवानी राणा भने अनिर्णयको बन्दी बन्न पुगेकी छन् । उता ढकाल भने विधान संशोधनका लागि मरेरै भए पनि लागि पर्ने बताएपछि भवानी राणाको भने निद हराम हुन पुगेको छ ।

यसैको अभिव्यक्ति स्वरुप कात्तिक १५ गते बोलाइएको बैठकमा महासंघ पदाधिकारीकै चण्डीराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठ अनुपस्थित रहेका थिए । हाल महासंघको पदाधिकारीमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष मुरारका, विशिष्ट सदस्य चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी रहेका छन् ।

महासंघको यो लडाइँमा अध्यक्ष भवानी राणाको कार्यकालमा हुन गएको आर्थिक अनियमितता छताछुल्ल हुन जाने डर पनि उनलाई त्यत्तिकै छ । भवानी राणाको विजयका लागि रातदिन घामपानी नभनेर लागिपरेका चण्डीराज ढकाल हाल राणादेखि निकै क्रुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्