शिक्षक बन्न इसाई नै हुनुपर्ने ? छानबिन हुँदै



ललितपुर : गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ । 

संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ ।

उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । ‘यस संस्थाका बारेमा केहीले गुनासो गरेपछि छानबिन सुरु भएको हो’, उनले भने ।

ललितपुरका सहायक सीडीओ डमरु निरौलाले संस्थासँग सम्पूर्ण विवरण मागेको र अनुसन्धान भइरहेको बताए । उनले भने, ‘संस्थाले हालसम्म के कस्ता काम गर्‍यो, कसरी सञ्चालित भइरहेको छ, आम्दानीको स्रोत के होलगायत अनुसन्धान भइरहेको छ।’ 

संस्था ललितपुरको भनिमण्डलमा ५ वर्षयता सञ्चालित छ । उनका अनुसार संस्थाले मागेबमोजिम केही कागजपत्र बुझाए पनि अझै बुझाइ सकेको छैन । 

उनले भने, ‘छानबिनको प्रतिवेदन नआई केही भन्न सकिन्न, अहिले हामी प्रारम्भिक अनुसन्धानमा छौं ।’ उनले ५ वर्षमा भएका काम हेरिने पनि बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्