भारतसँगको तेस्रो टेस्टमा अस्ट्रेलियन कप्तान सात वर्षीय बालक !



एजेन्सी : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन् ।

क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्धको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ ।

त्यही टेस्टमा सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन् । 

क्रिसमसको भोलिपल्टै सुरु हुने ‘बक्सिङ डे’ टेस्टमा भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले नै गर्नेछन् । क्रिकेट अस्ट्रेलियाको यो घोषणापछि आर्ची अहिले विश्वभरका सञ्चारमाध्यममा मजैले छाएका छन् ।

अस्ट्रेलियन टोलीका नियमित कप्तान पाइनले पनि यो समाचारको पुष्टि गरिसकेका छन् । वास्तवमा आर्ची सानै उमेरदेखि मुटु रोगबाट पीडित छन् । 

थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया समेत भइसकेको छ । आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए ।

केही समयअघि आर्चीका पिताले उनको सपनाबारे सोधेका थिए । त्यतिबेला आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना भएको बताएका थिए । 

उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्धको तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाउन लागिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्