लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने : मन्त्री थापा



विराटनगर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने बताएकी छिन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस-२०७६ मनएको र सो अन्तर्गत ‘लैङ्गिक हिंसामुक्त देश’ अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी दिइन् ।

सो अभियानलाई सफल बनाउन तिनै तहका सरकारले सबैको सहयोग लिनुपर्नेमा जोड दिदै उनले अहिले पनि महिलामाथिको विभेद अवशेषको रुपमा रहेकाले त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्ने बताइन् । मन्त्री थापाले महिला मैत्री समाज निर्माणका लागि तीनै तहका सरकारले गम्भीर रुपमा लिई पालिकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव सङ्कलन गर्नाका साथै उक्त अभियानलाई निरन्तरता दिन नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सुसूचित गराउनुपर्ने आवश्यकता पनि औँल्याइन् ।

एक प्रश्नको जवाफमा उनले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् । रासस

प्रतिक्रिया दिनुहोस्