आन्तरिक सुरक्षा नीति तयार : संकटमा केन्द्रीय कमान्ड फोर्स परिचालन



काठमाडौं : गृह मन्त्रालयले पहिलोपटक आन्तरिक सुरक्षा नीति तयार पारेको छ । मन्त्रालयले आन्तरिक सुरक्षा नीतिबमोजिमको कानुन बनाउन मस्यौदा बनाएर तीन साताअघि कानुन मन्त्रालयमा पठाएको छ । 

मस्यौदामा प्रदेश, स्थानीय तह वा मुलुकको जुनसुकै भूभागमा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि भई आन्तरिक वा राष्ट्रिय सुरक्षामा असर पर्ने अवस्था देखिए नियन्त्रण गर्न केन्द्रीय कमान्ड फोर्स परिचालन गर्ने उल्लेख छ ।

गृहका अनुसार ‘आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन २०७५’ को मस्यौदा सरोकारवाला निकायसँग छलफल गर्न कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको हो । ‘राष्ट्रिय सुरक्षा नीति २०७३’ लाई आधार मानेर मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाएको हो । 

राष्ट्रिय सुरक्षा नीतिको आवश्यकतासम्बन्धी व्यवस्थामा उल्लेख भएबमोजिम आन्तरिक सुरक्षा नीतिको मस्यौदा तयार पारिएको छ । 

‘देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र सामाजिक सद्भाव अक्षुण राख्दै राष्ट्रिय स्रोतसाधनको समुचित उपयोग गर्न सक्ने वातावरण कायम राख्न, राष्ट्रिय आकांक्षा र राष्ट्रियहितका विषयलाई बाह्य आक्रमण वा आन्तरिक दबाब र चुनौतीबाट सुरक्षित गर्दै संवद्र्धन र प्रवर्द्धन गर्नुपर्ने’, राष्ट्रिय सुरक्षा नीतिमा उल्लेख छ ।

संविधानको धारा ५१ (क) मा राज्यका नीतिहरूमध्येको राष्ट्रिय सुरक्षा नीतिमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षणलगायत सुरक्षासम्बन्धी विषय उल्लेख छ । 

राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाई राष्ट्र हितमा समुचित उपयोग गर्ने लक्ष्य राखिएको छ ।

त्यसकै आधारमा राष्ट्रिय सुरक्षा नीति तयार हुनुका साथै सोही नीतिलाई आधार मानेर आन्तरिक सुरक्षा नीति तयार गरिएको गृहले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्