राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बित



काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले डेपुटी गभर्जर श्रेष्ठलाई निलम्बन गरेको हो ।

२०७२ फागुनमा नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेकोलगायतका आरोप छन् ।

श्रेष्ठमाथि छानविन गर्न बैठकले राष्ट्र बैंक सञ्चालक समित सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेकाले श्रेष्ठ निलम्बनमा परेका हुन् । समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नरविरूद्ध छानबिन समिति बनेपछि उनी पदबाट स्वतः निलम्बन भएको मानिन्छ ।

समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्