चक्रपथमा त्रुटि नै त्रुटि, जोखिममा सर्वसाधारण



ललितपुर : सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको ट्रिपरले शनिबार राति बिजुली पोलमा ठक्कर दियो । चक्रपथ सडकमा दुर्घटना यो पहिलो होइन ।

यसअघि एकान्तकुनामा ना६ख २७८० नम्बरको ट्रकले किचेर बा६७प ४०८३ नम्बरको मोटरसाइकलमा सवार सरला मिश्रको घटना स्थलमै मृत्यु भएको थियो ।

महालक्ष्मीस्थानमा बाटो काट्नेक्रममा ५७ वर्षीय फुर्मामंगल शेर्पालाई बा३ख ३६०६ नम्बरको बसले ठक्कर दियो । शेर्पाको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । चक्रपथ सडकमा ९ जनाले ज्यान गुमाइसकेका छन् । धेरै सर्वसाधारण अंगभंग भएका छन् ।

तिखेदेवलमा बस्ने सप्तरीका अरविन्द मण्डल भन्छन्, ‘कामबाट फर्केर महालक्ष्मी चोक पुग्दा राति ८ बज्छ । सडक बत्ती नभएकाले अँध्यारोमा डराई–डराई बाटो काट्नुपर्ने बाध्यता छ ।’ तीन महिनाअघि राति घर फर्कंदा मोटरसाइकलको ठक्करबाट घाइते बनेका उनी सम्झन्छन्, ‘चालकले फराकिलो सडक भएकाले गाडी तीव्र गतिमा गुडाउँछन् ।’ 

‘हेडलाइट कम हुने सावरी चालकले टाढाबाट बाटो काट्नेलाई देख्दैन । नजिक आइपुग्दा ब्रेकले भ्याउँदैन । अनि दुर्घटना हुन्छ ।’ सप्तरीकी ६० वर्षीया विगी मण्डलले सहायताबिना बाटो काट्न मुस्किल पर्ने सुनाइन् ।

चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकका त्रुटि केलाएर साध्यै छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काटदा बीचमा अडिने ठाउँ छैन । सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्न न जेब्रा क्रसिङ छ न त आकाशे पुल नै बनाइएको छ ।

बटुवा जोखिम मोलेर बाटो काट्न बाध्य छन् । फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्टप, पार्किङ लट बनेकै छैनन् । सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिह्न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइर पनि राखिएको छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्