नेकपा सचिवालय बैठक बस्दै



नेपाल कम्युनिस्ट पार्टी, नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी एकता, सरकारको काम–कारबाहीलगायत विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

बैठक बुधबार बिहान ११ बजे बस्ने भनिए पनि दिउँसो ३ बजेलाई सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरुले बताएका छन् । केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा अझै टुंगिएको छैन । जसले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योलको अवस्था सिर्जना भएको छ ।

आज बस्ने बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सरकारको काम–कारबाहीको समीक्षा पनि आजको बैठकमा हुने नेताहरुले बताएका छन् । सरकारका मन्त्रीको कार्यसम्पादनलाई लिएर पछिल्लो समय नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । मन्त्रीको पफमेन्स सन्तोषजनक नभएको भन्दै जिम्मेवारी परिवर्तन गर्न पनि नेकपाभित्र बहस शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्