अब एक करोडको घर चार हजारमै बिमा



काठमाडौं : अब प्रतिहजार ४० पैसा बिमा शुल्कमा घर बिमा गर्न पाइने भएको छ । बिमा समितिले पाँच वर्षपछि सम्पत्ति बिमा निर्देशिका परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । 

समितिले आइतबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेबाट १ करोड रुपैयाँभन्दा कम मूल्यको घरमा प्रतिहजार ४० पैसाका दरले बिमा गर्न सकिने जानकारी दिएको हो । 

सोभन्दा बढी मूल्यको घरमा भने प्रतिहजार १ रुपैयाँ शुल्कमा बिमा गर्न सकिने व्यवस्था नयाँ निर्देशिकामार्फत ल्याइएको बिमा समितिका अध्यक्ष डा. चिरञ्जीवी चापागाईंले जानकारी दिए । 

उनका अनुसार यो शुल्क हाल प्रचलनमा रहेको सबै प्रकारका बिमायोग्य जोखिम शुल्कलाई आधार औसतमा ६० प्रतिशतका दरले बिमादर घट्नेछ । बिमा शुल्कमा गरिएको व्यापक कटौतीले निर्जीवन बिमाको दायरामा अत्यधिक वृद्धि हुने समितिको भनाइ छ । 

नयाँ निर्देशिकाले हुलदंगा तथा आतंकवाद जोखिम समूहबाहेक अरू सबै जोखिमहरू एउटै प्याकेजमा अनिवार्य गरेको छ । साथै विनाकारण बिमकले एकतर्फी बिमालेख रद्द गर्न नसक्ने व्यवस्था पनि गरिएको छ । 

आइतबार पत्रकार सम्मेलन गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सो कुराको जानकारी दिएका हुन् । निर्जीवन बिमा व्यवसायअन्तर्गत अग्नि बिमालेख र गार्हस्थ बिमालेखलाई एकै निर्देशिकाको अधिनमा रहने गरी क्रमशः सम्पत्ति बिमालेख र घर बिमालेखले प्रतिस्थापन गरेको उनले बताए ।

बिमकहरूले हालको सफ्टवेयरमा हाल जारी सम्पत्ति निर्देशिकाअनुरूप मिलान गर्न तथा बिमालेख छाप्नका लागि १ महिनाको समय दिइएको छ । सोहीकारण नयाँ बिमालेख माघ १ गतेदेखि लागू हुनेछ । 

हाल विद्यमान निर्देशिका असान्दर्भिक भएको, ग्राहकको बिमालेखप्रतिको बुझाइमा फरक पर्न गएको कारण बिमा समितिले सो निर्देशिका परिमार्जन गरेको हो । 

जारी हुने नयाँ बिमालेखमा सम्पत्ति बिमालेख तथा घर बिमालेखअन्तर्गत सबै प्रकारका बिमायोग्य जोखिमको बिमा एउटै बिमालेखमा रक्षावरण हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्