विमानस्थल अध्यागमनमा चलखेल, मोटो रकमा ओभर स्टे सेटिङ



काठमाडौं : पर्यटक भिसामा आएर ओभर स्टे २४ जना उज्बेकिस्तानका युवतीलाई त्रिवि अध्यागमनले सेटिङ मिलाएर उडाएको फेला परेको छ। कानुनअनुसार पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी बस्न पाइँदैन।

उज्बेक युवतीहरू भिसा सकिएपछि पनि लामो समय यहाँ बसिरहेका थिए। त्रिवि अध्यागमनका केही कर्मचारीले सेटिङमा यस्ता ओभर स्टे विदेशीहरूलाई उडाउने काम ३/४ वर्षअघिदेखि नै गर्दै आएको खुलेको छ।

ओभर स्टे भएकाहरू जरिवाना तिरेर विभागले भिसा नियमित गरिदिएपछि मात्र फर्कन पाउँछन्। विभागबाट २ महिनायता जम्मा एक जना उज्बेक युवतीले मात्र भिसा नियमित गराएर फर्किएकी छन्।

कात्तिक दोस्रो साता भिसा नियमित गर्न विभाग गएकी उज्बेक युवती याकासिमुरात मान्जुराले मनोरञ्जनका लागि यहाँ आएको बताएकी थिइन्। धेरै साथी नेपाल आउने÷जाने गरेको उनले बताएकी थिइन्।

कस्तो मनोरञ्जनका लागि उज्बेकिस्तानबाट यहाँ आएको हो भन्ने प्रश्नको उनले भनिन्, ‘डोन्ट आस्क दिस क्वेस्चन !’ उनले ५ सय ४४ दिन ओभर स्टेबापत् २ हजार ७ सय ७० अमेरिकी डलर तिरिन्।

ठूलो संख्यामा उज्बेक युवती किन यहाँ आउँछन् र ओभर स्टे गर्छन् अनुसन्धानको पेचिलो विषय बन्दै गएको छ। उनीहरू यहाँ आएर के गर्छन् न अध्यागमन न त कुनै सुरक्षा निकायलाई नै जानकारी छ।

जानकारहरू यौन व्यापार गर्न उनीहरू काठमाडौं आउने बताउँछन्। उनीहरू यहाँबाट यौन व्यापारका लागि भारतका गोवालगायत अनेकौं पर्यटकीयस्थल पुग्ने गरेका छन्। राहदानी काठमाडौंमा राखेर स्थलमार्ग हुँदै बिचौलियाको मद्दतमा उनीहरू भारतीय सहर पुग्छन्।

डिसेम्बरमा ओभर स्टे भएकाहरू भिसा नियमित गर्न अध्यागमनमा सम्पर्क गर्नु पर्नेमा उज्बेकहरू त्रिवि अध्यागमनमा सेटिङ गरी गएका हुन्। उनीहरूलाई यसरी सेटिङ गरी पठाउँदा १ करोड रुपैयाँभन्दा बढी रकम राज्यलाई घाटा पुगेको छ।

उनीहरूलाई सेटिङमा पठाएको सूचना पाएपछि अध्यागमन विभागले छानबिन समिति बनाएको थियो। समितिले सत्यतथ्य प्रतिवेदन नदिएको स्रोले बताएको छ।

उनीहरू जरिवाना नतिरी कसरी उडे अख्तियार अनुसन्धान दुरूपयोग आयोगले छानबिन थालेको छ। उज्बेक युवतीलाई सेटिङमा उडाएकोबारे उजुरी परेपछि आयोगले अनुसन्धान थालेको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्