बिग्रेको मेसिनबाट स्वास्थ्य परीक्षण



प्युठान : प्युठान नगरपालिका–१ स्थित दाखाक्वाडी स्वास्थ्यचौकीमा बिग्रिएको मेसिनले प्रेसर परीक्षण गरी अनुमानका भरमा औषधि दिने गरिएको छ । 

जिल्ला जनस्वास्थ्य र प्युठान नगरपालिकामा मेसिनसहित अन्य सामग्री खरिदका लागि पटक–पटक माग फारम बुझाए पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी निमित्त इन्चार्ज अनमी मोतीकुमारी केसीले बताइन् । ‘आन्तरिक स्रोतमा पनि पैसा छ’, उनले भनिन्, ‘त्यसबाट खरिद गरेनौँ । जिल्लाबाट पनि चासो दिइएन ।’

स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्न नसक्दा काम गर्न असहज भएको उनले बताइन् । स्वास्थ्यचौकीको आन्तरिक खातामा रकम भएर पनि मेसिन खरिद गर्नतर्फ स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले चासो नदेखाउनु गैरजिम्मेवार भएको स्थानीयको आरोप छ । औषधि व्यवसायीका अनुसार उक्त मेसिनलाई २ हजारदेखि १० हजार पाँच सय रुपैयाँ पर्छ ।

प्युठान नगरपालिका कार्यालदेखि टाढाको दूरीमा अवस्थित उक्त स्वास्थ्यचौकीमा दाखाक्वाडीको भलावाङ, सालघारी, धाइरेचौर, फूलघाट र माण्डवी गाउँपालिकाको मार्सिवाङबाट बिरामी सेवा लिन आउने गर्छन् । 

जीर्ण भवनबाट सञ्चालित चौकीमा काम गर्न असहज भइरहेको अनमी सिर्जना योगीको गुनासो छ । ‘एउटा टेबलमा चार जनाले काम गर्छौं’, उनले भनिन्, ‘अभावै अभावमा सेवा दिनुपरेको छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्