एसिया प्रशान्त सन्दर्भमा बुझाइको कमी : ज्ञवाली



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पम्पेओेसँगको भेटमा एसिया प्रशान्त रणनीतिका बारेमा छलफल नभएको बताएका छन् । 

उनले इन्डो प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाबारेमा छलफल भएको भन्दै रणनीति र क्षेत्रका बीचको बुझाइमा प्रस्ट नहुँदा आशंका उब्जिएको बताए ।

अमेरिका भ्रमणबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘इन्डो प्यासिफिक क्षेत्रमा नेपालले भूमिका खेल्न सक्छ भनिएको हो, रणनीतिमा होइन । इन्डो प्यासिफिक क्षेत्र र रणनीति फरकफरक विषय हुन् ।’

उनले थपे, ‘हाम्रा कुनै ठूला विश्वस्तरिय र क्षेत्रीय महत्वाकांक्षा छैनन् । हाम्रो महत्वाकांक्षा विकास हो । हामी सबै मित्र र सहयोगीसँग सहयोग लिएर अघि बढ्न चाहन्छौं । 

त्यसका लागि विदेशमन्त्री पम्पेओसँग मैले विकास प्राथमिकताका विषय पनि साझा गरेको छु ।’ भेटमा अमेरिकासँग उत्तर कोरियाका विषयमा मात्र नभएर समग्र कोरिया प्रायद्वीपका विषयमा छलफल भएको ज्ञवालीले जानकारी दिए । 

‘उहाँ (पम्पेओ)ले त्यस क्षेत्रमा शान्ति चाहिरहेको बताउनुभएको थियो। त्यसमा सबैतिरबाट साथ सहयोग होस् भन्ने उहाँको भनाइ थियो । त्यसैले यस्ता विषयमा जति भनिएको छ, त्यतिमात्रै बुझ्दा राम्रो हुन्छ,’ ज्ञवालीले भने ।

ज्ञवालीले अमेरिकासँगको सम्बन्धपछि मात्र नेपालको अन्य बाहिरी विश्वसँगको सम्बन्ध जोडिएको बताए । 

उनले भने, ‘अमेरिका नेपालको महत्त्वपूर्ण विकास साझेदार हो । पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टपछि अमेरिका सबैभन्दा ठूलो विकास साझेदार बनेको छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्