दुना–टपरी कक्षा



दमौली : ‘सालको पातको टपरी हुने ए बरै, नहुने सल्लैको ..’ यो लोकदोहोरी भाका निकै चर्चामा छ । नयाँ पुस्ताले गीतमार्फत सालका पातको टपरी हुने भन्ने थाहा पाए पनि बनाउने सीप धेरैसँग छैन । कतिपयले नदेखेका पनि हुन सक्छन् ।

व्यास–१ भादगाउँको निर्मल माविमा १० कक्षामा पढ्ने सुस्मिता चौधरीले टपरी त देखेकी थिइन्, बुनेकी थिइनन् । स्कुलमा टपरी बुन्ने कक्षा चलाएपछि भने उनी पनि बनाउन सक्ने भएकी छन् ।

‘म्यामहरूले सिकाउनु भो,’ उनले भनिन्, ‘पहिला आउँथेन, जानेपछि त सजिलै रहेछ ।’ सुस्मिताले जस्तै विद्यालयमा ६ देखि १० कक्षासम्म पढ्ने १ सय ५० जना छात्रा सालको पातको दुना र टपरी बुन्न सक्ने भएका छन् । 

‘हामीले किताबी कुरा मात्रै होइन, घरव्यवहारमा आवश्यक सीपलाई पनि प्रयोगात्मक कक्षामा राखेका छौं,’ प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भने, ‘समाज आधुनिकतातिर अघि बढदा घरेलु उपयोगका धेरै सीप छुटदै जाने अवस्था छ । त्यसलाई जीवन्त राख्न यस्तो कक्षा दिन थालेका हौं ।’

विद्यार्थी र अभिभावक पनि यस्ता कक्षाबाट खुसी भएको उनले बताए । ‘विगतमा घरेलु सीप पुराना पुस्ताबाट नयाँमा हस्तान्तरण हुँदै जान्थ्यो,’ बस्नेतले भने, ‘अहिले जीवनशैलीमा आएको फेरबदलको असर व्यवहारमा परेका छन्, धेरैजसो परम्परागत ज्ञान र सीप हराउन थालेका छन् ।’

प्रयोगात्मक कक्षा चलाएर विद्यार्थीलाई सिकाउँदा उनीहरूको सिकाइ क्षमतामा पनि सकारात्मक प्रभाव पर्दै गएको उनले बताए । 

परम्परागत रूपमा घरव्यवहारका हलुका तर उपयोगी सीप महिलाले गरिआएका छात्रालाई र पुरुषले गरिआएका छात्रलाई सिकाउन अभिभावकको सल्लाह र सीपलाई पनि विद्यालयले प्रयोग गर्दै आएको छ ।

१० शिक्षिका र चार अभिभावकले छात्रालाई दुना–टपरी बुन्न सिकाएका हुन् । गुन्द्री र ढकिया बुन्ने कक्षा पनि सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्