विद्युत प्राधिकरण र ‘मध्य त्रिशूली गङ्गा’बीच ‘पिपिए’मा हस्ताक्षर



नुवाकोट : नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना’सँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ ।

पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवर्द्धक रहेको १९ दशमलब ४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत खरिदका लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता गर्ने कार्य सम्पन्न भएको हो ।

दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत ८ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत ४ रुपैयाँ ४० पैसामा खरिद गर्ने आयोजनाको प्रवद्र्धक पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनियर देवेन्द्र बस्नेतले हस्ताक्षर गरे ।

प्रवर्द्धक कम्पनीका आवासीय इञ्जिनियर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।

सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ । 

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे (वेत्रावती)मा विद्युत उत्पादन गृह रहने आयोजना पूरा गर्न ५ अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ । 

आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्