एकै काेठामा पढ्छन् २ र ३



गोरखा : धार्चे गाउँपालिका १ को गणेश हिमाल आधारभूत विद्यालयका फरक कक्षाका विद्यार्थी एकै कोठामा बसेर पढ्छन्। २०७२ सालको भूकम्पमा भत्किएको विद्यालय अझै नबन्दा कक्षा २ र ३ का विद्यार्थीको कक्षा एउटै भएको हो।

दुईतले रहेको उक्त विद्यालय भूकम्पले एकतले बनाइदियो। त्यसपछि एकतलेलाई मर्मत गरेर तल्लो तहका तीन वटै कक्षाका विद्यार्थी व्यवस्थापन गरिँदै आएको प्रधानाध्यापक सत्यमान श्रेष्ठले जनाए।

‘पहिले कक्षा १ र २ का विद्यार्थी तल्लो तलामा पढ्थे। ३ का विद्यार्थी माथिल्लो तलामा थिए भत्किएपछि माथिल्लो तला फालेर तल्लोमा सबै कक्षा व्यवस्थापन गर्नुपर्दा समस्या छ’, उनले भने। भूकम्पले भत्किएका जिल्लाका प्रायः भवन बनिरहे पनि गणेश हिमाल आधारभूत विद्यालयले नयाँ भवन पाउन नसकेकोप्रति उनले दुखेसो पोखे।

विद्यालय निर्माण गर्न पर्याप्त जग्गा नपाइँदा पनि समस्या भएको वडाध्यक्ष दिलीप गुरुङले बताए। ‘व्यवस्थापन समितिको अध्यक्ष सूर्यबहादुर भट्टराईको जग्गामा विद्यालय छ’, वडाध्यक्ष गुरुङ भन्छन्, ‘जग्गा अभावले भवन बनाउन सकिएन।’ भूकम्पले भत्किएका अधिकांश विद्यालय बनिसकेका र बाँकीको पनि स्रोत सुनिश्चित भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ जनाउँछ।

दोभानमा करिब ४० घर छन्। त्यहाँका सबै बालबालिका गणेशमै पढ्छन्। तर, कक्षाकोठा अभावका कारण गुणस्तरीय पढाइ भने हुन नसकेको प्रअ श्रेष्ठ गुनासो गर्छन्। ‘कक्षा २ कालाई पढाउन लाग्दा ३ का खेलेर बस्छन् ३ कालाई पढाउन थाल्यो दुईका खेल्न थाल्छन्’, प्रअ श्रेष्ठले दिक्क मान्दै भने, ‘भवन नहुँदा साह्रै समस्या भो।’

सामाजिक र नेपाली दुई वटालाई सँगसँगै पढाउने गरिएको र गणित र अंग्रेजी पढाउन भने समस्या भएको उनको भनाइ छ। ‘भुइँचालो आउँदा भाग्न सजिलो हुन्छ भनेर एउटै कोठामा राखेर पढाउन थालियो। अहिलेसम्म त्यही हालत छ’, उनले भने।

विद्यालय भवन निर्माणको जिम्मा पाएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले भने सो ठाउँको समस्याबारे जानकारी नभएको बताएको छ। ‘त्यस्तो समस्या भएको भए त हामीसम्म आइपुग्नुपर्ने हो’, आयोजना प्रमुख रामप्रसाद आचार्यले सहज उत्तर दिए, ‘त्यस्तो समस्या हो भने के गर्न सकिन्छ, कार्यक्रमभित्र राखूँला।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्