निर्मला हत्या प्रकरण : सीआईबीको अर्को टोली कञ्चनपुरमा



काठमाडौं : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेको छ। बलात्कारपछि हत्या घटना अनुसन्धानका क्रममा प्रहरीले प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अर्काे टोली कञ्चनपुर पुगेको छ। सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ।

सीआइबीको एउटा टोली कञ्चनपुरमै रहेका बेला काठमाडौंबाट गिरी नेतृत्वको अनुसन्धान टोली त्यहाँ पुगेर अनुसन्धान थालेको हो। ‘निर्मला प्रकरण अनुसन्धानका लागि हाम्रो टोली निरन्तर कञ्चनपुरमै छ’, सीआइबीका प्रवक्ता समेत रहेका गिरीले भने, ‘हामी अनुसन्धानकै चरणमा छौं, केही प्रगति भएको छ, यसबारे थप बोल्नु अहिले हतार हुन्छ।’

निर्मला प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र सीआइबीका डिएसपी अंगुर जिसीसहितले प्रमाण नष्ट गरेपछि नेपाल प्रहरीको सिंगो संगठननै विवादमा मुछिएको छ। उनीहरू दुवैको भूमिका ‘गैर व्यवसायिक र आचरणविपरित’ रहेको ठहर गर्दै प्रहरीको उच्चस्तरीय छानबिन समितिले कारबाहीको सिफारिस गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्याको घटनामा साविती बयान दिएको भनिएका स्थानीय किशोर प्रदीप रावल अझै प्रहरीको हिरासतमा छन्। लागूऔषध दुव्र्यसनी रहेका प्रदीपले मंसिर १८ मा पक्राउ लगत्तै प्रहरीसमक्ष घटना स्वीकारेका थिए। तर केरकारका क्रममा प्रदीपले बयान फेरेपछि प्रहरीको पछिल्लो प्रयास पनि असफल भएको छ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्