नालापानीको छायांकन फेरि हुँदै 



काठमाडौंः केही थप दृश्यका लागि चलचित्र नालापानीको पुनः छायांकन गरिएको छ । चलचित्र अझ कसरी राम्रो बनाउने भन्ने उद्देश्यले यसका केही दृश्य पुनः छायांकन गरिएको चलचित्र निर्देशक रिमेश अधिकारीले बताए ।

 

‘भक्तपुरको तेलकोटमा  हामीले चलचित्रका केही दृश्य पुनः छायांकन गरिरहेका छौं,’ रिमेशले भने, ‘हामी चलचित्र निर्माणको अन्तिम चरणमा छौं, केही दृश्य थप गर्नु पर्ने भएकाले पुनः छायांकन गरिएको हो । 

केही समयअघि चलचित्रको टिजर सार्वजनिक भएको थियो । भीएफएक्स प्रयोग भएको चलचित्रको टिजरमा मेकिङ लोभलाग्दो देखिन्थ्यो भने ब्याकग्राउन्ड स्कोर उस्तै उम्दा थियो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर यो चलचित्र निर्माण भइरहेको हो ।

 

चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता विष्ट, प्रनिश शाक्य, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, सुष्मा भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ  ।

पद्माकुमारी फिल्मस प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा बनेको यस चलचित्रमा मनोज शाक्य निर्माताका रूपमा छन्  । चलचित्रको लेखन रिमेश र कृष्ण आचार्यले गरेका हुन्  ।

विपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र वसन्त खत्री मगरले भीएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका छन्  । प्राचार्य रामराजा कुँवर र प्राडा धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ चलचित्र आधारित रहेको निर्माणपक्षले जनाएको छ । चलचित्र नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्