शिक्षक सरुवापछि वीरगन्जको घण्टाघर तनावग्रस्त



वीरगन्ज : वीरगन्जको माईस्थानस्थित विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा भएपछि विद्यार्थी नाराजुलुसमा उत्रेका छन् । उनीहरुले सोमबार बिहानैदेखि वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध नाराबाजी गरेका छन् ।

विद्यार्थीको प्रदर्शनका कारण घण्टाघर क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ ।  प्रदर्शनका कारण घण्टाघर क्षेत्रमा यातायात अवरुद्ध भएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने भएको छैन । विद्यार्थी आन्दोलनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ । 

 

महानगरपालिकाले प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् । 

प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत उनको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए ।

 

उनले भने, ‘विद्यार्थीलाई उचालेर राजनीति गर्न खोज्ने प्रअ मेहतालाई कानुनी कारबाही हुनुपर्छ ।’ महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्