पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने भएको छ । 

 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर मासिक घाटा १ अर्ब २९ करोड नाघेको भन्दै निगमले भाउ बढाउने तयारी गरेको हो ।

 

नेपाल आयल निगमलाई तेल दिँदै आएको इण्डियन आयल कर्पोरेशनले हरेक १ तारिख र १५ तारिखमा मूल्य सूची पठाउने गर्छ ।आयल निगमले त्यही मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । 

 

बढेको बेला भाउ बढाउने निगमले घटेको बेलामा भाउ नघटाउने गरेका कारण निगमको आलोचना पनि हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशनले आज पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई महिनामा १ अर्ब २९ करोड रुपैयाँ घाटा हुनेछ । 

 

अहिले डिजलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा घाटा छ । एक सिलिन्डर ग्यासमा ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको निगमले जनाएको छ । 

 

निगमलाई हवाई इन्धनमा नाफा हुँदै आएको छ, हवाई इन्धनको नाफा जोडेर पनि मासिक १ अर्ब २९ करोड रुपैयाँ घाटामा जाने निगमको प्रक्षेपण छ । निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियमा पदार्थ सस्तो भएकाले अहिले तस्करी पनि बढेकाले घाटा अझै बढेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्