प्रदेश १ र २ मा कामकाजी भाषा मैथिली बनाउन सम्मेलनको माग



जनकपुरधाम :  जनकपुरमा आयोजित अन्तर्राष्ट्रिय मैथिली सम्मेलन प्रदेश १ र २ मा कामकाजी भाषा मैथिली बनाउन माग गर्दै सम्पन्न भएको छ । सम्मेलनले दसबुँदे घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा दुवै प्रदेशमा प्रदेशस्तर र स्थानीय तहका सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालयमा मैथिलीलाई कामकाजी भाषा घोषणा गर्नुपर्ने उल्लेख छ । नेपालमा नेपालीपछि मैथिली सबैभन्दा बढी बोलिने दोस्रो भाषा हो । 

सम्मेलनले नेपालको विद्यालय पाठ्यक्रममा प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म सय पूर्णाङ्कको एउटा पत्र मातृभाषा विषय अनिवार्य राख्न पनि माग गरेको छ ।

घोषणापत्रमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रुपले मातृभाषाको माध्यमबाट शिक्षण र विद्यार्थी मूल्याङ्कन गरिनुपर्ने, मैथिली भाषामा पत्रकारिता गर्नेका लागि वृत्ति विकासको व्यवस्थाका साथै छापा र विद्युतीय सञ्चारमाध्यमलाई राजकीय संरक्षण दिनुपर्ने उल्लेख गरिएको छ ।

 

सम्मेलनले मैथिली एकेडमी स्थापना गर्न पनि सुझाव दिएको छ । लोकसेवा आयोगको परीक्षाको माध्यममा मैथिली भाषालाई पनि मान्यता दिन, मिथिला क्षेत्रको पर्यटकीय विकासका लागि मिथिला पर्यटन सर्किट निर्माण, प्रदेशस्तरमा शोधकेन्द्र स्थापना र मैथिली शोधवृत्ति व्यवस्था गर्न पनि सम्मेलनले माग गरेको छ । 

 

सम्मेलनले  नेपालको संविधान २०७२ मा व्यवस्था भएअनुसार भाषा आयोगलाई पूर्णता दिँदै मैथिली भाषाका विज्ञलाई समानुपातिक प्रतिधिनित्व गराउनुका साथै संविधानमा एउटा अनुसूची कायम गरेर नेपालका समृद्ध भाषाहरुलाई सूचीकृत गर्न सरकारलाई सुझाव दिएको छ ।

दुईदिने सम्मेलनमा नेपाल तथा भारतका गरी करिब दुई सय मैथिली अभियानी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्