निभाउने मान्छे नहुँदा सिंगै गाउँ खरानी



सुर्खेत : कालिकोटमा दुर्गम खाडामा आगलागीका कारण पूरै गाउँ सखाप भएको छ । आइतबार रातिदेखि लागेको आगो नियन्त्रणमा नआउँदा सोमबार बिहानसम्म पूरै गाउँ नै जलेर सखाप भएको हो । 

पलाँता गाउँपालिका –१ खाँडामा लागेको आगोका कारण ८७ घर जलेर नष्ट भएका छन् । राति साढे १० बजेदेखि लागेको आगो निभाउने जनशक्ति नभएका कारण पूरै गाउँ जल्न पुगेको स्थानीयले बताएका छन् । रोजगारीका लागि सबै पुरुष तराई तथा भारततिर लागेकाले गाउँमा महिला, बालबालिका र वृद्धवृद्धामात्रै  थिए ।

आगलागीमा ७ जना घाइते भएको गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन् । अहिलेसम्मको विवरण अनुसार आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन् । 

‘गाउँमा पुरुष कोही पनि छैनन्, महिला र ज्येष्ठ नागरिकले निभाउन सम्भव भएन’, उपाध्यक्ष न्यौपानेले भनिन्, ‘गाउँमा पानीको पयाप्त स्रोत पनि नहुँदा आगो झन् फैलिन पुग्यो, बिहानसम्म पूरै गाउँ नै सखाप भयो ।’ गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।   

प्रहरी घटनास्थलतर्फ लागेको छ । खाडामा आगलागी भएको खबर पाएपछि राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकीका प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जनाको टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

चौकीदेखि घटनास्थलसम्म प्रहरी पुग्न ५ घण्टा लाग्ने भए पनि मध्यरातमा हिँडेको टोली सोमबार बिहानसम्म पनि पुग्न सकेको छैन । आगालागीबाट लाखौंको क्षति पुगेको छ । खरको छानो भएका कारण पनि आगोले छिटै पूरै गाउँलाई चपेटामा लिएको हो । 

 

प्रतिक्रिया दिनुहोस्