भारत नपुगी नेपाल छिर्न पाउँदैनन् चिनियाँ जहाज



काठमाडौं : नेपालको हवाईमार्ग विकास र विस्तारमा छिमेकी भारतको उल्लेख्य योगदान छ । भारतीय सहयोगमा सन् १९५१ देखि १९५२ सम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  निर्माण पूरा भएपछि नागरिक उड्डयनको क्षेत्रमा नेपालले फड्को मारेको हो ।

 

सन् १९५४ देखि १९६३ सम्ममा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल, कर्मचारी आवास र सडक निर्माणसम्बन्धी सम्झौता नेपाल र भारतबीच भएको थियो । त्यस कामका लागि भारत सरकारले चार लाख ६० हजार भारतीय रुपैयाँ खर्च गरेको भारतीय अधिकारीहरू बताउँछन् । 

‘हवाईमार्ग विकासका लागि यो ऐतिहासिक र महत्वपूर्ण पूर्वाधार थियो । जसबाट नेपालमा आवतजावत गर्न सहजता थपिएको थियो,’ त्रिभुवन विमानस्थल निर्माणका समयमा सात वर्ष उमेरको रहेका मुन नकर्मीले भने ।

 

भक्तपुरका मुनले भारतीय सहयोगमा गौचरनले विमानस्थलको रुप लिएपछि नै काठमाडौंको आकाशमा पखेटा फिँजाएर चरा उडेझैं विमान उड्न थालेको दृश्य अलिक बढी देखिन थालेको बताए । ‘त्यसअघि त हामीले आकाशमा उड्ने गाडीको आवाजमात्र सुनेर चित्त बुझाउने गथ्र्यौं,’ मुनले भने । 

भारत सरकारकै सहयोगमा विराटनगर, जनकपुर, सिमरा, भैरहवा र पोखरा विमानस्थल निर्माण भएका हुन् । सन् १९६४ मा त्यससम्बन्धी नेपाल–भारत सम्झौता भएको थियो । यी ठाउँमा विमानस्थल निर्माण क्रममा कर्मचारी आवास, टर्मिनल भवन, सडकपेटी र सहायक सडक निर्माण गरिएका थिए । जसको लागत ५० लाख भारतीय रुपैयाँ थियो ।

 

जनकपुरका सामाजिक अभियन्ता रत्नेश्वर लालले उति बेलाको उड्डयन पूर्वाधार विकासले नै नेपालको हवाई यातायात अहिलेको अवस्थासम्म आइपुगेको बताए । उनले भने, ‘घरेलु उडानका लागि सबैभन्दा चाप हुने विमानस्थल नै भारतले त्यस बेला बनाएका ठाउँहरू हुन् ।’

भारतले आफ्नो हवाई रुट प्रयोग गर्न दिएर नेपाललाई सहयोग गरिरहेको छ । विदेशबाट आउने जहाज भारत हुँदै नेपाल प्रवेश गरिरहेका छन् । विदेशी एयरलाइन्सका जहाज दुइटा विन्दुबाट नेपाल छिर्न पाउँछन् । कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै नेपाल प्रवेश गर्छन् ।

 

भुटानबाट आउने विमान तुम्लिङटारमाथिको हवाई विन्दुबाट नेपाल पस्छन् । नेपालबाट बाहिरिँदा महेन्द्रनगरबाट दिल्ली, भैरहवाबाट लखनउ, जनकपुरबाट पटना र कोलकाता तथा विराटनगरबाट ढाका रुटमात्र प्रयोग गर्न पाइन्छ । भुटानका लागि बनाइएको मेची÷तुम्लिङटारको हवाई विन्दु भने दुईतर्फी हो । यो रुट भुटानका हवाई कम्पनीले मात्रै प्रयोग गर्छन् ।

 

उत्तर ल्हासातर्फको रुट पनि दुईतर्फी छ । यो रुट ल्हासाबाट नेपाल आउने विमानले मात्रै प्रयोग गर्छन् । चीनका अन्य सहरबाट आउने विमान भने भारतबाट सिमरा हुँदै पस्नुपर्छ । सरकारले सन् २००९ मा भारतसँग वार्षिक १५ लाख ६० हजार हवाई सिटको सम्झौता गरेको छ ।

 

दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदराबाद र कोलकातामा प्रतिसाता ३० हजार सिट यात्रु उडाउन पाउँछन् । नेपालबाट भारतका देहरादुन, बागडौरा, गोरखपुरलगायत २१ पर्यटकीय सहरमा भने जति पनि यात्रु आउजाउ गर्न पाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्